सामाजिक जागरणमा नेपाली नाटकको भूमिका

98
Shares

काठमाडौं ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक विभागले सामाजिक जागरणमा नेपाली नाटकको भूमिका विषयक परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पुरु लम्सालले सामाजिक जागरणमा नेपाली नाटकको भूमिका विषयमा लघु अनुसन्धान प्रस्तुत गरेका थिए।

प्राज्ञ लम्सालले डबली, लोक नाटक, सडकनाटक, गीतिनाटक, अपेरा, कचहरी नाटक, मुक्त रङ्गमञ्च र रेडियो नाटकलाई प्रस्तुत गरेका छन्। लम्सालले लघु अनुसन्धानमा मैथिली नाट्य इतिहास, सामाजिक जागरण, रुपान्तरणको प्रभाव, २०४६ सालसम्मको अवस्था, बहुदलपछिको नाट्य गतिविधि, युद्धकालीन अपेरा र जनसांस्कृतिक परिवार तथा वर्तमान अवस्थालगायत पक्षलाई औल्याउने प्रयास गरेका छन्।

नाट्य अध्येयता गीता सापकोटा र संस्कृतिकर्मी तथा समालोचक इश्वरचन्द्र ज्ञवालीले प्रस्तुत लघु अनुसन्धानमाथि टिप्पणी गरेका थिए। सापकोटा र ज्ञवालीले लघु अनुसन्धानको प्रशंसा गर्दै छुटेका र समावेश गर्नुपर्ने विषयवस्तुलाई थप गरी अझै समृद्ध बनाउनुपर्नेमा जोड दिए।

उपकुलपति शम्भु राईले वृहत् अध्ययन र अनुसन्धानका लागि प्रतिष्ठानसँग स्रोतसाधनको कमी भए पनि यस्ता कार्यलाई निरन्तरता दिइरहने बताए। प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष ठाकुरले लगु अनुसन्धानको शीर्षक प्रष्ट नभएको औँल्याउँदै नेपाली नाटकको स्थानमा नेपालीय नाटक शब्द प्रयोग गर्न सुझाए।

ठाकुरले नेपाली शब्दले नेपालीलगायत नेपालका सम्पूर्ण भाषा समेट्ने जनाउँदै यस्ता अनुसन्धान पत्र तयार पार्दा उद्देश्य, लक्ष्य र सिमा निर्धारण गरेर अगाडि बढे त्यसले सार्थकता पाउने बताए। नाटक विभागका प्रमुख प्राज्ञ हिसन बहादुर मगले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक जागरणमा नेपाली नाटकको भूमिकालाई उजागर गर्न परिसंवाद कार्यक्रमको आयोजना गरिएको बताए।

कार्यक्रममा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम मल्ल कुमाखी, नाट्यकर्मी प्रवीण पुमा, जनगायक टेकबहादुर बमपाखीलगायतले नेपाली समाजको रुपान्तरण्मा जनयुद्धको विशेष भूमिका रहेको चर्चा गर्र्दै अनुसन्धानपत्रमा जनयुद्धकालीन नाट्य गतिविधिलाई अझ प्रभावकारी रूपमा समावेश गर्न सुझाए।