विश्व फुटबलमा चम्केका १६ वर्षीय यामल

490
Shares

काठमाडौं ।

स्पेनका युवा खेलाडी लामिन यामल पहिलो युरोपेली प्रतियोगितामै कीर्तिमान रच्न सफल हुनुभएको छ। यामलले मंगलबार राति भएको युरोकपअन्तर्गत फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा गोल गरेपछि युरोकपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाउनुभएको हो।

फ्रान्सविरुद्ध गोल गर्दा उहाँको उमेर १६ वर्ष ३६२ दिनको थियो। उहाँले स्विट्जरल्यान्डका योहान भोनलान्थेनको कीर्तिमान तोड्नुभएको हो। यसअघि भोनलान्थेनले १८ वर्ष १४१ दिनमा युरो २००४ मा फ्रान्सविरुद्ध नै गोल गरेर युरोमा गोल गर्ने कान्छो खेलाडी बन्ने कीर्तिमान कायम गर्नुभएको थियो । यो कीर्तिमान करिब २० वर्षपछि यामलले तोड्नुभयो।

यस्तै, यामल युरो सेमिफाइनलमा गोल गर्ने कान्छो उमेरका खेलाडीसमेत बन्नुभएको छ। उहाँले यसपटक भने पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोड्नुभयो । रोनाल्डोले २००४ युरो सेमिफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गर्दा उहाँको उमेर १९ वर्ष १४६ दिन थियो ।

लामिन यामल नासराउई इबाना पूरा नाम रहेको यामलले यसअघि बार्सिलोनाका लागि नै कीर्तिमान राख्नुभइसकेको थियो। ५१ खेल खेलेका उहाँले बार्सिलोनाका लागि ७ गोल मात्रै गर्नुभएको छ। तर, उहाँले जर्मनीमा जारी युरोकपमा घुमाउरो प्रहारमा गरेको गोल भने विश्व फुटबलमा चर्चाको विषय बनेको छ। यामलका बुबा मोरोक्कोका हुनुहुन्छ। उहाँका बुबाले ७ वर्षीय यामललाई बार्सिलोनामा प्रशिक्षणका लागि जिम्मा दिनुभएको थियो।

यामलले बार्सिलोनाको सिनियरमा डेब्यु गर्दा उहाँको उमेर १५ वर्ष २९० दिनको थियो। योसँगै उहाँ बार्सिलोनाका कान्छा खेलाडीसमेत बन्नुभयो। उहाँ १६ वर्ष र ५७ दिनको हुँदा स्पेनका लागि गोल गर्ने कान्छा खेलाडीसमेत बन्नुभएको थियो ।