कल्स ओवर रिजेज नेपालद्वारा दिवा खाजा र छात्रवृत्ति वितरण

672
Shares

ओखलढुंगा ।

कल्स ओवर रिजेज नेपालले ओखलढुंगाको खिजीदेम्बाका माध्यमिक तह सञ्चालित विद्यालयहरुमा दिवा खाजा र छात्रवृत्ति वितरण शुरु गरेको छ । पहिलो चरणमा ५ वटा माध्यमिक तह सञ्चालित विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण थालिएको हो ।

पालिकाभित्र माध्यमिक तह सञ्चालित ७ मध्ये ५ वटा विद्यालयका २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको संस्थाका अध्यक्ष साङडोमा शेर्पाले जानकारी दिनुभयो । छात्रवृत्ति वापतको ५० प्रतिशत रकम विद्यार्थीले तत्कालै सदुपयोग गर्न पाउने गरी हातमा र ५० प्रतिशत उनीहरुको भविष्यप्रति मध्येनजर राखदै विद्यालयको खातामा जम्मा गरिएको अध्यक्ष शेर्पाको भनाई छ ।

जस अनुसार वडा नं. १ स्थित नर्मदेश्वर माविलाई १६ हजार ५ सय, वडा नं.५ को फुलमती माविलाई २१ हजार, वडा नं. ९ को शिवालय माविलाई १६ हजार ५ सय, वडा नं.४ को कुण्डली माविलाई १५ हजार र वडा नं. २ को चण्डेश्वरी माविलाई १८ हजार रुपैयाँ वितरण गरिएको हो ।

 विद्यार्थीहरुको आवश्यकता, लगनशिलता, मेधवी गरी विभिन्न ३ तहमा विभाजन गरी आधारभूत र माध्यमिक तहसम्म छात्रवृत्ति वितरण गर्ने कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०८१ को प्रथम त्रैमासिक छात्रवृत्ति वितरण गरिएको कल्स ओवर रिजेज नेपालका खिजीदेम्बा संयोजक मिङमार शेर्पाले जानकारी दिनुभयो । यसैवीच, संस्थाले खिजीदेम्बाको वडा नं। १ स्थित नर्मदेश्वर माविमा सञ्चालित दिवा खाजा कार्यक्रमको परीक्षणकाल सफल भएसँगै थप ३ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत पौषबाट परीक्षणको रुपमा शुरु भएको दिवा खाजा कार्यक्रम प्रभावकारी र सफल भएसँगै पालिकाभित्रका अन्य विद्यालयमा समेत कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

कल्स ओभर रिजेज, खिजीदेम्बा गाउँपालिका र अभिभावकको सहलगानीमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि छ । सोही अनुसार त्रिपक्षीय सम्झौता समेत सम्पन्न गरेको संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत वडा नं. २ को चण्डेश्वर मावि, वडा नं. ४ को कुण्डली मावि र वडा नं. ५ को फुलमति माविमा साउनदेखि दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ । विद्यालयको सबै कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई पौष्टिकयूक्त दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने खिजीदेम्बा संयोजक शेर्पाको भनाई छ ।

विद्यार्थी टिकाउदर बृद्धि, शैक्षिण गुणस्तर अभिबृद्धि, नतिजा सुधार र दक्ष जनशक्ति निर्माणमा पौष्टिकयूक्त दिवा खाजा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले दातृ संस्थासँग साझेदारीमा कार्यक्रम लागू गरिएको पालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । शुरुवाती चरणमा माध्यमिक तह सञ्चालित विद्यालयहरुमा कार्यक्रम सञ्चालन हुने र क्रमशः सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने नीति लिइएको अध्यक्ष शेर्पाको भनाई छ ।

गोरखा नगरपालिका, दोलखाको जिरी नगरपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले यस आर्थिक बर्षदेखि खिजीदेम्बामा पनि कार्यक्रम सञ्चालन गरेको हो । वेलायतस्थित वि ग्लोबल फाउन्डेशनको आर्थिक सहयोगमा संस्थाले दिवा खाजा कार्यक्रम खिजीदेम्बा सञ्चालन गर्दै आएका छन् भने कल्स ओवर रिरेज केन्द्रीय कार्यालयबाट छात्रावृत्ति, स्कूल बस, बौद्धिक क्षमता बृद्धि, शिक्षकहरुलाई विषयगत तालिम तथा अन्य विभिन्न शिक्षासँग सम्वन्धित कार्यक्रमहरु समेत अन्य दातृ निकायको सहयोगमा सञ्चालन गर्दै आएका छन् ।