सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु

3.5k
Shares

एजेन्सी ।

सुगुरको मिर्गौला प्रत्यारोपण गरिएकी दोस्रो महिलाको पनि मृत्यु भएको छ। लिसा पिसोना नाम गरेकी ती अमेरिकी महिलामा मुटु समेत मेकानिकल राखिएको थियो।

न्यूयोर्कको ल्याङ्गोन ट्रान्सप्लान्ट इन्स्टिच्युटका चिकित्सकहरुले मंगलबार उनको मृत्यु भएको पुष्टि गरे। त्यसो त मंगलबार उनको मृत्यु भएको घोषणा गरे पनि अनुवांशिक रुपमा परिमार्जित सुगुरको मिर्गौला भने प्रत्यारोपण गरिएको ४७ दिनमै उनको शरीरबाट हटाउनु परेको थियो। त्यसपछि पनि उनी ४३ दिन बाच्न सफल भइन्।

शरीरबाट मिर्गौला हटाएपछि भने उनले डायलासिस लिनु परेको थियो। यसअघि पहिलो पटक अमेरिकामा १६ मार्च २०२४ का दिन एक व्यक्तिमा अनुवांशिक परिमार्जन गरिएको सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी सुगुरको मिर्गौलाको साहारामा दुई महिनासम्म बाँचेका थिए। यी महिला त्यसैगरी सुगुरको मिर्गौला प्रत्यारोपण गराउने दोस्रो व्यक्ति हुन् । तर उनमा सुगुरको मिर्गौला प्रत्यारोपण गर्नु अघि मेकानिकल हार्ट पम्प डिभाइस (एलभीएडी) प्रत्यारोपण गरिएको थियो।

४ अप्रिलमा उनको शरीरमा मेकानिकल मुटु (एलभीएडी) जडान भएको थियो । मेकानिकल हार्ट पम्पबाट मानिसमा अंग प्रत्यारोपण विश्वकै पहिलो केश भएको बताइएको छ ।

‘४ अप्रिलमा उनको शरीरमा मेकानिकल हार्ट पम्प डिभाइस जडान गरियो । १२ अप्रिलमा अनुवांशिक परिवर्तन गरिएको सुगुरको मिर्गौला प्रत्यारोपण गरियो।’ चिकित्सकहरुले केही दिनसम्म प्रत्यारोपित सुगुरको मिर्गौलाले राम्ररी काम गरेको र फेल हुने सम्भावना नदेखिएको बताएका थिए । तर उनीहरुले मेकानिकल हार्ट पम्पले भने राम्रोसंग रगत आपूर्ति गर्न नसकेको बताएका थिए । जब २७ मे मा उनको शरीरबाट प्रत्यारोपित मिर्गौलाले काम नगरी हटाइयो । मेकानिकल हार्ट पम्पले राम्ररी काम गर्न थालेको थियो ।

एनवाईयू ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक डा रोबर्ट मोन्टगोमेरीले लिसा परोपकारी र साहसी महिला भन्दै यसले चिकित्सा विज्ञानका लागि ठूलो योगदान दिएको बताए।

उनले लिसाको ट्रान्सप्लान्टले थप जानकारी मिलेको भन्दै यसले अंग प्रत्यारोपणमा ठूलो सफलता भएको समेत दावी गरे। ट्रान्सप्लान्ट गर्नु अघि लिसाले उपचारका लागि सबै प्रयास गरिसकेको र अन्तिम प्रयास स्वरुप अनुवांशिक गरिएको सुगुरको मिर्गौला प्रत्यारोपण गर्ने र बाँकी समय नातिनीहरुसंग विताउन चाहेको भनेकी थिइन्।

नातिनी ओलिभियाले हजुर आमामा गरिएको प्रत्यारोपणले पुरा फाइदा नदिए पनि चिकित्सा विज्ञानका लागि ठूलो सिकाई भएको बताईन् । उनले भविस्यमा हुने प्रत्यारोपणको विकासका लागि समेत ठूलो मद्धत पुगेको बताइन।