ज्योतिष रुद्रनाथका ३ गीत सार्वजनिक

126
Shares

काठमाडौं ।

गीतकार संघ नेपालको आयोजनामा पूर्वअर्थमन्त्री तथा कवि, गीतकार एसपी कोइरालाले गीतकार पं. ज्यो.डा. रुद्रनाथ अधिकारीका तीन गीत बुझ मायालु, यसपालिको तीजमा र यस्तै रहेछ भाग्य बोलका गीतको भिडियो सार्वजनिक गरेका छन्।

कार्यक्रममा भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले गीतकार अधिकारीको बारेमा प्रष्ट पारेका थिए। गीतकार आनन्द अधिकारीले गीतकार डा.अधिकारीका गीतको समीक्षा गर्दै गीति लेखनमा पनि ज्योतिशास्त्रलाई समावेश गरिएकाले नयाँ गीतकारजस्तो नदेखिएको बताए। उनले तीज, हाक्पारे, बालन, धान नाच, टप्पाजस्ता संस्कृतिभित्र राष्ट्र रहेकाले मौलिक कला संस्कृति प्रस्तुत हुँदा राष्ट्रको प्रतिनिधित्व हुने बताए।

सञ्चारकर्मी सुमन पण्डितले सञ्चालन गरेको कार्यक्रममा गीतकार संघ नेपालका सल्लाहकार तथा पूर्वअध्यक्ष चूडामणि देवकोटा, अमल फाउन्डेसन बंगलादेशकी निर्देशक इस्रात करिम, नारायण गोपाल संगीत कोष एवं तारादेवी स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक केसीलगायतले गीतकार अधिकारीका गीतले बजारमा चर्चा पाउने विश्वास व्यक्त गरे।

गीतकार पं. ज्यो. डा. धिकारीले आफूले गर्दै आएको व्यक्तिको भविष्यवाणीसँगै देशको भविष्यवाणी पनि मिलिरहेको बताए। कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा गीतकार, कवि एसपी कोइरालाले अधिकारीको गीति लेखन पनि ज्योतिष विज्ञानमा प्राप्त गरेको लोकप्रियताजस्तै बनोस् भने शुभकामना दिए।