आईपीओ आउने अघिल्लो दिन रिलायन्सको लाइन काटियो 

714
Shares

काठमाडौं ।

आईपीओ निष्कासन हुनै लागेको बेला नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत् बिजुली प्रयोग गरेर महसुल नतिरेको भन्दै रिलायन्स स्पेनिङ मिल्सको लाइन काटेको छ ।

रिलायन्स स्पेनिङ मिल्ससहित घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको उद्योगको लाइन मंगलबार मध्यरातमा काटेको हो। रिलायन्स स्पेनिङ मिल्सको भोलि असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन हुँदै छ । उक्त आईपीओेको मूल्य बढी भएको विषयमा समेत नेपाल धितो पत्र बोर्डमा उजुरी परेको छ।

प्राधिकरणका अनुसार रिलायन्स ६० करोड २९ लाख रुपियाँ, घोराहीको ४० करोड ६८ लाख रुपियाँ,  र अर्घाखाँचीको ३५ करोड ८८ लाख रुपियाँ बक्यौता छ। यो रकममा थप २५ प्रतिशत जरिवानासहितको बिल प्राधिकरणले उद्योगीहरूलाई पठाएको थियो। प्राधिकरणले बिल पठाएपछि उद्योगीहरूले मंगलबार पत्रकार सम्मेलन गरी विरोध गरेका थिए।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो। असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो।

प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो। बाँकी उद्योगको लाइन  बुधबार काटिने प्राधिकरणले स्रोतले जनाएको छ।