असारे विकास प्रभाव : खुर्कोट-मन्थली-मिल्ती सडक खण्डको कालोपत्रे १५ दिन पनि टिकेन

1.3k
Shares

रामेछाप ।

हतपतको काम लतपत भने झैँ मन्थली बजारस्थित देवकोटा चोकमा कालोपत्रे गरेको १५ दिन नबित्दै सडकको कालोपत्रे उप्किएको छ ।

देवकोटा चोक रामेछाप सदरमुकाम मन्थलीको सानो तर अति व्यस्त बजार क्षेत्र हो । सधैँ भिडभाड हुने देवकोटा चोक विद्यालय र कार्यालय समयमा अत्यधिक मात्रामा भिडभाड हुन्छ । विद्यार्थी लगायत पैदल यात्रीहरूलाई र सवारी साधनलाई पनि सहज आवागमनका लागि केही समय अगाडी देवकोटा चोकको भित्ता कटिङ गरेर सडक बढाइएको थियो ।

सडक बढाइएपछि गरिएको कालोपत्रे १५ दिन पूरा नहुँदै उप्किन थालेपछि हतपतको कम लतपत भन्ने उखान मिलेको छ । गोलन्जोर कन्ट्रक्शनले १५ दिन अगाडी मात्रै यो सडक कालोपत्रेको काम गरेको थियो । गुणस्तरलाई खासै वास्ता नगरी हतार हतारमा सडक कालोपत्रे गर्दा १५ दिन पूरा नहुँदै कालोपत्रे उप्कन थालेको स्थानीयको भनाइ छ ।

जिल्लाकै मुटु मन्थली देवकोटा चोककै काम यति धेरै कमसल भएपछि अन्य ठाउँको अवस्था के होला भन्ने स्थानीयको आशङ्का छ । गोलन्जोर कन्ट्रक्शनले गरेको काममा मन्थलीमा मात्रै होइन अन्य धेरै ठाउँमा पनि समस्या देखिएको छ । यो निर्माण कम्पनीले खुर्कोट-मन्थली-मिल्ती सडकको मर्मतको काम गरिरहेको छ । तर निर्माण कम्पनीको लापरबाहीका कारण यो सडक खण्डको विभिन्न स्थानमा कालोपत्रे गरिएको केही दिनमै कालोपत्रे उप्किएको छ ।

यो सडक अन्तरगत कै लिखुतामाकोशी गाउँपालिका–६ तल्लो खिम्ती बजारमा गरिएको कालोपत्रेमा पनि समस्या देखिएको छ । खिम्ती तल्लो बजार प्रहरी बिट नजिकै १० मिटर भन्दा बढी सडकको कालोपत्रे उप्किएको छ । बेस राखेर पेल्नुपर्नेमा त्यसो नगरी हिलो माटोमाथि कालोपत्रे गरिएकाले कालोपत्रे गरेको केही दिनमै उप्किएको स्थानीयहरूले बताएका छन् ।

सडकको कालोपत्रे उप्किन थालेपछि धेरै पटकको ताकेता पछि निर्माण कम्पनीले बुधवारबाट कालोपत्रे उप्किएको ठाउँमा फेरी कालोपत्रे हाल्ने काम गरिरहेको लिखुतामकोशी गाउँपालिका-६ खिम्तीका वडा अध्यक्ष शिवप्रसाद न्यौपानेले बताउनुभयो ।उहाँले भन्नुभयो‘‘सडक मर्मतमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीको जिम्मेवारी देखिन। देखादेख हिलो माटोमाथि कालोपत्रे गरिएको छ ।

यो भएन भन्दा पनि कानमा तेल हालेर बसे । कालोपत्रे सकिएको भोलिपल्ट बाटै कालोपत्रे उप्किन थाल्यो । धेरै ताकेता पछि आजबाट उप्किएको ठाउँमा फेरी कालोपत्रे हाल्न थालेका छन् ।’’ सडक कालोपत्रेमा निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेको सडक डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।

सडकमा गुणस्तरहीन काम भएकाले आवश्यक परीक्षण गरी चाडै मर्मतको काम गर्न लगाउने सडक डिभिजन कार्यालय सिन्धुलीका इन्जिनियर सन्देशराज ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘सडकमा क्वालिटीको काम भएको छैन । अब चाडै मर्मत हुन्छ । सडक कालोपत्रेको काम स्वीकारयोग्य देखिएन । समस्या आएका ठाउँहरूमा भत्काएर पुनः काम गर्न लगाउँछौँ ।’’