सन्तुलित स्पेनविरुद्ध भाग्यमानी फ्रान्स

4.89k
Shares

एजेन्सी ।

नेपाली समयअनुसार मंगलवार मध्यराति १२ः४५ बजे विश्व फुटबलका दुई महारथी राष्ट्र स्पेन र फ्रान्सबिच यूरोकप २०२४ को पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ।

म्युनिखको आलियान्ज फुटबल एरिनामा हुने उक्त भिडन्तमा सन्तुलित स्पेनिस टोलीले आत्मघाती गोलको सहयोगले भाग्यमानी साबित हुँदै अन्तिम आठमा पुगेको फ्रान्सको चुनौती पाउनेछ । उक्त खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

युरोपेली फुटबलका यी दुई महाबलीमध्ये स्पेन जारी प्रतियोगितामा अहिलेसम्म सबै पाँच खेल जित्ने एक मात्र टोली हो। क्वार्टरफाइनल यात्रा गर्ने क्रममा ११ गोल गरेको स्पेनले विपक्षीबाट दुई गोल मात्र बेहोरेको छ। छोटो–छोटो र हेर्दा कलात्मक देखिने पास खेल्न माहिर स्पेनले क्वार्टरफाइनलमा आयोजक तथा तीन पटकका यूरो च्याम्पियन जर्मनीलाई हराएर आफ्नो सामर्थ प्रस्तुत गरिसकेको छ । उनीहरूको अग्रपंक्ति र रक्षापंक्ति दुवै कत्ति प्रभावशाली छ भनेर गोल गरेको र बेहोरेको तथ्यांकबाट प्रष्ट हुन्छ ।

जर्मनीमाथि जित हासिल गरेपछि स्पेनका प्रशिक्षक लुइस डेला फुएन्टेले आफ्ना खेलाडीहरू अतृप्त रहेको बताएका थिए । चोटका कारण पेड्री तथा दोहोरो पहेँलो कार्ड पाएका कारण डानी कार्भाजल र रोबिन ली नोरमन्डले सेमीफाइनलमा खेल्ने छैनन्।
यस्तै, पेड्रिको अनुपस्थितिले स्पेनलाई मिडफिल्डमा समस्या हुन सक्नेछ । तर, पेड्रीको ठाउँमा डानी आल्मोले सेन्ट्रल मिडफील्ड सम्हाल्ने सम्भावना प्रबल छ । उनले पछिल्ला तीन खेलमा दुई गोल एक असिस्ट गरेका छन् ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर क्वार्टरफाइनलमा विजयी गोल गरेका मिकेल मोरिनोले यसपटक पनि बेन्चबाटै खेल सुरु गर्ने अनुमान गरिएको छ । त्यस्तै, जेसस नाभासले राइट ब्याकमा कार्भाजलको कमीलाई पूरा गर्नेछ । नोरमन्डको स्थान हाल साउदी अरेबियाली क्लब अल क्वाडसियाहमा आबद्ध नाचो फर्नान्डेजले लिने अनुमान गरिएको छ ।

प्रतियोगिताको सुरुदेखि ४–३–३ को रणनीति अपनाएको स्पेनले फ्रान्सविरुद्ध पनि सोही रणनिति अपनाउने छन । यसअघि जर्मनीविरुद्धको खेलमा भने स्पेनले तीनपटक रणनिति फेरेको थियो । सुरुमा विंगर प्रयोग गरेको स्पेन त्यसपछि विंगर र स्ट्राइकरबिहीन रुपमा प्रस्तुत भएको थियो ।

अतिरिक्त समयमा ४–२–४ को ढाँचामा बदलिएको थियो । मध्यपंक्तिका रोड्रीले अग्रपंक्तिमा अल्भारो मोराटालाई बल उपलब्ध गराउनेछ भने विंग्सबाट २१ वर्षीय नीको विलियम्स र १६ वर्षीय लामिने यमलले साथ दिनेछन्।

फ्रेन्च टोलीको खराब प्रदर्शन

अर्कोतिर सेमीफाइनलसम्मको यात्रा गर्दा फ्रेन्च टोलीले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सकेको छैन। दुई पटकको यृुरो च्याम्पियन फ्रान्सले यसपटक सेमिफाइनल प्रवेश गर्दा जम्मा तीन गोल मात्र गरेका छन। तीन गोलमध्ये पनि अस्ट्रिया र बेल्जियमविरुद्ध जित निकाल्दा आत्मघाती गोलको सहारा लिनुपरेको थियो भने पोल्यान्डविरुद्ध १–१ को बराबरी भएको खेलमा पनि केलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए।

त्यस्तै, समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र क्र्वाटरफाइनलमा पोर्चुगलसँग निर्धारित समयसम्म गोलरहित बराबरी खेलेको थियो । फ्रेन्च अट्याकिंग मिडफील्डर एन्टोइन ग्रिजम्यानले भने स्पेनविरुद्धको खेलमा आफ्नो अनुभवको भरपूर फाइदा लिन सक्नेछन् । किनभने उनले फ्रान्समा भन्दा स्पेनमा आफ्नो करियरको धेरै समय बिताएका छन्।

स्पेनिस टोली जस्तो फ्रेन्च टोलीलाई आफ्नो कुशल खेलाडी अनुपस्थिति हुने कुनै डर छैन। फ्रेन्च टोली शतप्रतिशत फिट नै छ। सुरुवाती लाइनअपमा एड्रिएन राबियोट, रान्डाल कोलो मुआनीले खेल्ने सम्भावना प्रबल छ। राबियोटले एडुआर्डो कामाभिन्गाको ठाउँ लिने सम्भावना छ।

प्रायः ४–३–३ फर्मेसनमा खेल्ने फ्रान्सले यसपटक बलियो रक्षापंक्तिको साथ पाएको छ। काउन्डे, उपामेकानो, सालिबा र हर्नान्डेजको बलियो रक्षापंक्तिले प्रतियोगिताभरि अहिलेसम्म एक गोल मात्र बेहोरेको छ। यो रक्षापंक्तिले स्पेनको अग्रपंक्ति मोराटा र विंगरद्वय विलियम्स र यमलको अग्निपरीक्षा लिनेछ ।

डेम्बेले, कोलो मुआनी र एम्बाप्पेसहितको अग्रपंक्तिले पनि नाभास, लापोर्टे र कुकुरेल्लासहित स्पेनिस रक्षापंक्ति घेरालाई तोड्न ठूलै कसरत गर्नुपर्नेछ । प्रतियोगिताभरि खासै गोलसंख्या बढाउन नसकेको फ्रेन्च अग्रपंक्तिलाई स्पेनविरुद्धको खेलमा राबियोट, साउमेनी र एन्गोलो कांटेको मध्यपंक्तिले गोलका लागि बल उपलब्ध गराउन भरमग्दुर प्रयास गर्नेछ । पछिल्ला पाँच खेलको नतिजालाई सरसर्ती तुलना गर्ने हो भने फ्रान्सभन्दा स्पेनको वजन भारी देखिन्छ ।