अजलको अर्को राष्ट्रिय कीर्तिमान

376
Shares

काठमाडौं ।

अजलकाजी ताम्रकारले प्रथम नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। अजलले पुरुष १ सय मिटर बटरफ्लाईमा ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाको राष्ट्रिय कीर्तिमानलाई समेत पछि पारेका हुन्। अनुभवले २५ औं राष्ट्रिय खुला पौडी प्रतियोगिताअन्तर्गत १ सय मिटर बटरफ्लाईमा ५९.७७ सेकेन्डको कीर्तिमान राखेका थिए ।

यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान स्थापित गरेका थिए। अजलले २६ औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए।

प्रतियोगितामा जम्मा ३ राष्ट्रिय कीर्तिमान बने। थप एक कीर्तिमान दिवाकर अवालेले बनाएका थिए। दिवाकरले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गरेर कीर्तिमान बनाएका थिए। उनले शुभम शर्माले १३ औं दक्षिण एसियाली खेलकुदमा उक्त दुरीमा २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान राखेका थिए।

कीर्तिमानधारीले प्रत्येक कीर्तिमान वापत ५ हजारका दरले नगद पुरस्कार पनि प्राप्त गरेका छन्। प्रतियोगितामा १ सय ६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो। ५३ अंकसाथ सेन्ट मेरिज दोश्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेश्रो बने।

समापनका अवसरमा भारतमा पदक जिेतका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजारसहित सम्मान गरिएको थियो। तेन्जिङले नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्ट्सको २ सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेका थिए।