पहिराेले रुबीभ्यालीका २२ घर जोखिममा, ५ परिवारलाई  सुरक्षित स्थानमा राखियो



धादिङ ।

रुबी भ्याली गाउँपालिकाको वडा नं.४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि ५ घरमा क्षति पुर्याउँनुका साथै २२ घर उच्च जोखिममा परेको छ ।
गाउँमाथिबाट अवाेइबाट सेर्तुङतर्फ सडक लगिएको बाटाे कोच्चोङ भिरमा पहिरो लडेपछि गाउँ नै जोखिममा परेको स्थानीय बासीको भनाइ छ ।

रबा क्षेत्रका एक पहिरो पीडित स्थानीयका अनुसार “सडक ट्याक भस्सिएर ठुलो पहिरोमा परिणत भएको छ । घरबार सबै छोडेर गोठको बास बिताइरहेका छौँ। बाढी पहिरो पीडितहरुलाई स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नुपर्ने र राहत उपलब्ध गराउन अनुरोध गरेका छन् ।” पहिरोले सबै बाली नष्ट भएको समेत उनले बताए ।

पहिरोले साङ्कोस तिप्लिङ सडक विभिन्न ठाउँमा बाटो अवरोध भएको छ । हाल धादिङ बेसीबाट खनियाबासको तरमानेसम्म सवारी चलिरहेको छ । यसबाहेक क्षेत्रमा सडक अवरुद्ध छ ।

पहिराे गएकाे स्थानमा ५ घरमा क्षति पुगेको छ । उनीहरू विस्थापित भएर नजिकै गाउँमा  आश्रय लिएर बसेका छन् भने अन्य मानिसपनि घर छाडेर गोठमा बसिरहेको स्थानीय विवेक तामाङले जानकारी दिए ।

 प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले ५ घर क्षतिपुगेकाे जानकारी वडा अध्यक्षले दिएकाे बताउँदै अन्यघरमा क्षति नपुगेकाे बताए । पालिकाले त्रिपाल उपलब्ध गराउन आग्रह गरिएको पाण्डेको भनाइ छ । पीडितहरुले भने स्थानीय सरकारले वास्ता नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्