जागिरको लोभ देखाएर जबर्जस्ती यौन व्यवसायमा लगाउने युवती पक्राउ



काठमाडौँ।

रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई प्रहरीले पक्राउ गरेको हो । चुँडालले अन्य व्यक्तिसँग मिलेर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानका क्रममा पाइएको प्रहरीको दाबी छ ।

प्रहरीले विराटनगर –११ नयाँ गुद्रीबजारस्थित फ्ल्याटबाट ६ जना महिलालाई उद्दार पनि गरेको छ । उद्दार गरिएका महिलाहरु २१ देखि २३ वर्ष उमेर समूहका छन् । उनीहरु काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १-१ जना र झापाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । ती महिलालाई होटलमा जागिर दिने भन्दै विराटनगर ल्याएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार चुँडालको समूहले अवैध यौन व्यवसाय चलाइरहेका थिए । होटलमा तथा ग्राहकले भनेको ठाउँमा महिलाहरुलाई यौन व्यवसायका लागि पठाउने गरेका थिए । चुँडालको समूहले महिलाहरुलाई भनेको स्थानमा जान नमाने यातना दिने गरेको पाइएको प्रहरीको दाबी छ । उद्दार गरिएका केही महिलाको शरीरमा चोटपटक पनि रहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्