रैथाने बाली संरक्षण तथा प्रवर्धन गर्न रैथाने बिस्कुट उत्पादन 



लमजुङ।

मध्यनेपाल नगरपालिका ५ स्थित जंगल कृषि फर्मले रैथाने बाली संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले रैथाने बिस्कुट उत्पादन गरेको छ । आधुनिक प्रविधिको विकाससँगै रैथाने बाली हराउँदै गएको हुँदा यसको संरक्षणका लागि बिस्कुट उत्पादन गर्न लागिएको जंगल कृषि फर्मका सञ्चालक इभान जोसीले बताए ।

नेपाली हावा पानीमा उत्पादन भएको फापर, कोदो र जौ जस्ता रैथाने बाली नेपाली र नेपाललाई राम्रो र उपयुक्त हुने जोशीको भनाई छ । व्यवसायिक रुपमा रैथाने बालिको संरक्षण तथा प्रवर्धन गरी उत्पादनमा जोड दिन सकेमा अन्य मुलुकमा पनि देशलाई चिनाउन सकिने जोशीले बताए ।

जोशी २०७७ सालमा बाली विकास तथा कृषि जैविक विविधिता संरक्षण केन्द्रले प्रदान गरेको रैथाने बाली परिकार विविधिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागि भएका थिए । उक्त तालिमबाट नै रैथाने परिकार तयार गर्न सिकेको र पहिलो पटक बिस्कुट उत्पादन शुरु गरिएको उनले बताए ।

जंगल कृषि फर्मले आफ्नै लगानीमा दुई महिन अघि बाट उक्त बिस्कुट उत्पादन शुरु गरिएको हो । उत्पादनको पहिलो चरणमा फर्मले एक हजार बराबरको बिस्कुट उत्पादन गरी घर घर सम्म पुर्‍याएको फर्मले अब बजार हेरेर यसको उत्पादन परिमाण वृद्धि गर्ने तयारीमा रहेको छ । जोशीले आफ्नै परिवारको सहयोगमा बिस्कुट उत्पादन गर्दे आएको छ ।

फर्मका सञ्चालक जोशीका अनुसार हाल भने आफन्त, छिमेकी र परिचित व्यक्तिको सम्पर्ककाबाट बिस्कुट घरघर सम्म पुर्याउने गरिएको  छ । उक्त बिस्कुटलाई पाँच हजार जना व्यक्ति सम्म पुर्‍याएर उनीहरुबाट आउने प्रतिक्रिया पछि मात्र बजारमा ल्याउने जोशीको भनाई छ । फर्मले हाललाई भने पारिवारीक प्याकमा बिस्कुट उत्पादन गरेको छ भने बजारमा ल्याउँदा विभिन्न साइजको उत्पादन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्