युरो कपको सेमिफाइनल समीकरण पूरा



एजेन्सी ।

जर्मनीमा जारी युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति क्वार्टरफाइनलका अन्तिम दुई खेल सकिएसंगै सेमिफाइनल पुग्ने चारवटै टिमको टुंगो लागेको हो।

स्पेन, फ्रान्स, नेदरल्यान्ड्स र इंग्ल्यान्ड युरो कपको सेमिफाइनल प्रवेश गरेका छन्। जर्मनीमा जारी युरो कप फुटबलमा ‘अन्डरडग’ टिमका रूपमा उदाएको टर्कीलाई हराउँदै नेदरल्यान्ड्स प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।

शनिबार मध्यराति भएको क्वार्टरफाइनलको अन्तिम खेलमा नेदरल्यान्ड्सले टर्कीविरुद्ध पछि परेको स्थिति उल्टाएर २–१ को पुनरागमन जितका साथ अन्तिम चारमा प्रवेश गरेको हो। यो जितसँगै नेदरल्यान्ड्सले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गरेको छ।

उक्त खेलमा टर्कीले उत्कृष्ट सुरुआत गर्दै ३५औं मिनेटमा गोलको खाता खोलेको थियो। युवा खेलाडी अर्दा गुलेरको सुन्दर पासमा सामेट एकाडिनले गोल गरेर नेदरल्यान्ड्सलाई झट्का दिएका थिए। सोही गोलको अग्रता लिएर जिततर्फ अघि बढेको टर्कीले खेलको अन्त्यतिर अग्रता बचाउन सकेन ।

७०औं मिनेटमा डच टिमका लागि स्टेफान डे भ्रिजले गोल गरेर टिमलाई खेलमा फर्काएका थिए। नेदरल्यान्ड्सलाई खेलमा फर्किन त्यही गोल मुख्य आधार बनेको थियो। बराबरी गोल गरेको ६ मिनेटमै नेदरल्यान्ड्सले खेलमा अग्रता बनाउन सफल भयो।
७६औं मिनेटमा टर्कीले आफ्नै पोस्टमा गोल गर्न पुग्यो । पेनाल्टी बक्सभित्र बल क्लियर गर्ने क्रमा टर्किस खेलाडी मेर्ट मुल्दुरले आफ्नै पोस्टमा गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा अग्रता लिएको थियो । सुरुमा सो गोललाई कोडी गाक्पोको नाममा दिए पनि पछि आत्मघाती करार गरिएको थियो। त्यही आत्मघाती गोलको मदतमा नेदरल्यान्ड्सले टर्कीमाथि २–१ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्‍यो ।

त्यसअघि भएको अर्को क्वाटरफाइनलमा उपाधिको एक प्रमुख दावेदार मानिएको इंग्ल्यान्डले पनि चिरपरिचित प्रतिस्पर्धी स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयको खेलमा पनि गोल नभएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । स्वीट्जरल्यान्डले खेलमा सुरुवाती अग्रता बनाए पनि इंग्ल्यान्डले तत्कालै खेलमा कमब्याक गरेको थियो।

स्वीस टिमका लागि ७५औं मिनेटमा ब्रिल इमबोलोले गोल गरेर इंग्ल्यान्डलाई झट्का दिएका थिए । तर, त्यसको ५ मिनेटमै इंग्ल्यान्ड खेलमा फर्कियो। टिम हार नजिक पुगेका बेला बुकायो शाकाले लो सटमा शानदार गोल गरेर इंग्ल्यान्डको उद्धार गरेका थिए। शाकाको त्यही गोलले इंग्ल्यान्डलाई बचाएर पेनाल्टीसम्म पुर्‍याएको थियो।

पेनाल्टीमा टिमले जित हात पार्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। पेनाल्टी सुटआउटमा स्वीट्जरल्यान्डका म्यानुएल अकान्जीको पहिलो प्रहार नै इंग्लिस गोलकिपरले बचाएर झट्का दिएका थिए। त्यसपछि इंग्ल्यान्डले आफ्ना ५ पेनाल्टी सबैमा गोल हानेपछि स्वीट्जरल्यान्डले पाँचौं प्रहार गर्न नपाई इंग्ल्यान्डले खेल ५–३ ले जित्यो । अब सेमिफाइनलमा इंग्ल्यान्डले नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपाली समयअनुसार सेमिफाइनलको खेल तालिका :
स्पेनविरुद्ध फ्रान्स – मंगलबार मध्यराति १२ः४५ बजे
नेदरल्यान्ड्सविरुद्ध इंग्ल्यान्ड– बुधबार राति १२ः४५ बजे

प्रतिक्रिया दिनुहोस्