दूधखोला र मर्स्याङ्दीको कटानले थोँचे धरापमा



मनाङ ।

लगातारको वर्षाले गर्दा मनाङको नासोँ गाउँपालिका–५ थोँचे कटानको कारणले गर्दा धरापमा पर्दै गएको छ। शुक्रबारदेखि अविरल रूपमा भएको वर्षा आइतबार केही कम भए पनि दूधखोलामा एक्कासि बाढी आउँदा दुई खोलाको बीचमा रहेको प्रकाशज्योति आवासीय मावि, वडा कार्यालय तथा वडा स्वास्थ्य कार्यालय कटानको उच्च जोखिममा रहेको वडा नं. ५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो ।

शनिबारको तुलनामा आइतबार वर्षा कम भए पनि दूधखोला उर्लेर आउँदा कटानको चपेटामा परेको उहाँको भनाइ थियो। वडाध्यक्ष लामाले विभिन्न सञ्चारका माध्यमबाट अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन तथा सुरक्षित रहन आग्रह गरिएको बताउनुभयो । विशेष गरी रातीको समयमा ढुक्कसँग नसुती सतर्क रहन अनुरोध गरिएको छ।

बाढीको कटानले गर्दा प्रकाशज्योति मावि पनि धरापमा परेको छ। मर्स्याङ्दीको बाढीले खोलामा लगाइएको पर्खाल भत्काएको लामाले बताउनुभयो।

यसैबीच मनाङ हाल सडक सञ्जालसँग विच्छेद भएको छ। खाद्यान्न तथा औषधिको अभाव हुन नदिन सर्तकताका साथ लागिपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्