९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामीसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कृषि पशुपालन फर्ममा तारबार गर्ने नाममा सरकारी रकम हिनामिना गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

आयोगले सो मुद्दामा गाउँपालिकाका अध्यक्ष रोकाया र उपाध्यक्ष धामी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य तथा उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायालाई प्रतिवादी बनाएको छ ।

१९ लाख ५० हजार रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिनुभयो। आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार पालिकाका तत्कालीन प्रमुख रोकायाले आफ्नै निजी जग्गामा थारी कोइलिङ कृषि तथा पशु फर्म खोलेर आफैं प्रोपाइटर बनी फर्मको घेराबार गर्न भनी पालिकाबाट आव २०७६/७७ र आव २०७७/७८ मा त्यसको तारबार गर्न भनी सरकारी रकम खर्च गरेका थिए। सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा कोइलिङ कृषि तथा पशुपालन फर्मका प्रोप्राइटर कृष्ण रोकायाले आफैं आफ्नै फर्ममा बजेट विनियोजन गरेको आरोप पत्रमा उल्लेख रहेको छ ।

साथै, गाउँपालिका अध्यक्ष रहेकै समयमा रोकायाले निजी जग्गामा रहेको थारी कोइलिङ कृषि तथा पशुपालन फर्मको घेराबार निर्माणका लागि बजेट विनियोजन गरेको पाइएको आयोगले जनाएको छ। सोही फर्ममा ढुंगाको पर्खालबाट घेराबार गर्न उनले सहोदर दाजु हंश रोकायाको अध्यक्षतामा निर्माण समिति गठन गरेको आयोगले उल्लेख गरेको छ।

साथै, उनले आफ्नै श्रीमती सेतु रोकायालाई कोषाध्यक्ष र सचिवमा तुलराज रोकाया रहेको उपभोक्ता समिति गठन गराई योजना सञ्चालन गरेको पाइएको आयोगले आरोप पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्