गायिका तारा थापा स्वर्णिम साँझमा



काठमाडौं ।

लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीको सहयोगार्थ राजधानीमा तारा थापा स्वर्णिम साँझ २०८१ भव्यताका साथ सम्पन्न भएको छ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा ख्यातिप्राप्त गायिका तारा थापाले आफ्ना १६ लोकप्रिय गीत प्रस्तुत गरेकी थिइन्।

स्वर्णिम साँझमा गायिका थापाले आफ्नै शब्द र संगीतको भागेर कहाँ हो जाने, नारायणकुमार आचार्यको शब्द र दीपक जंगमको संगीतको हजार चोटि, सुरेन्द्र रानाको शब्द र राम थापाको संगीतको सबैले दिने माया, चाँदनी शाहको शब्द र अम्बर गुरुङको संगीतको मेरो मायाको संसार, मनबहादुर मुखियाको शब्द र गोपाल योन्जनको संगीतको किनार भेट्न, नागेन्द्र थापाको शब्द र गोपाल योन्जनको संगीतेको तारी नदेउ माझी दाइ, श्रीपुरुष ढकालको शब्द र राम थापाको संगीतको कुनबेला, प्रेमराजा महतको शब्द र संगीतको सान्नानी हास न दिल खोलेर, सुवासचन्द्र ढुंगेलको शब्द र राम थापाको संगीतको फूल झरे पनि काँडा झर्दैन, दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू बज्राचार्यको संगीतको सयथरि बाजा एउटै ताल, महेन्द्र गुरुङको संकलनको हे साहिला, गोपाल योन्जनको शब्द र संगीतको खुट्टामा नेल परे पर्ला र काले पनि देखेँ मैले, छेत्र गुरुङको शब्द र गोपाल योञ्जनको संगीतको सोध रामलाई गीत गाएर दर्शकलाई सांगीतिक आनन्द दिएकी थिइन्।

गायिका थापाले सन्जोग लाफा मगरको शब्द र अजय थापा मगरको संगीता मगर भाषाको गीत र एउटा कौरा भाका पनि प्रस्तुत गरेकी थिइन्। गायिका थापालाई दर्शकले वाहीवाही र वान्समोरको आवाजले उत्साहित गराएका थिए।

कार्यक्रममा निर्देशक याम गुरुङ र नृत्याङ्गना रिना थापामगरको समूहले गायिका थापाका गीतमा दुई नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा आयोजक फाउन्डेसनको तर्फबाट गायिका थापालाई सम्मान गरिएको थियो। उनलाई नेपाल मगर संघ, अथार मगरात कलाकार संघ, समसामयिक गायक समाजको तर्फबाट पनि सम्मान गरिएको थियो। पत्रकार तथा गीतकार सुमन पण्डितद्वारा सञ्चालित कार्यक्रममा गायिका थापालाई गायक देवराज आले, सागर आले, मनोज थापा र गायिका सरिता शाही, दिपा सुहाङ, अप्सु योगीले स्वरमा साथ दिएका थिए।

संगीत संयोजक अशोककुमार राईको संयोजकत्वमा शिलाबहादुर मोक्तानले किबोर्ड, मनोहर सुनामले भ्वाइलिन संयोजन, मोहनकृष्ण कार्की ढली, रविन कार्की ढली, किशोर कार्की ढली र केशव सुनामले भ्वाइलिन, भरत नेपालीले सारंगी, गोपालदेव घतानी र धनबहादुर गुरुङ बाँसुरी, भरत बुढाथोकीले ताल बादन संयोजन, नरेश प्रजापति, पोषण घर्ती र अनील थापाले ताल बादन, रुपेश सिंहले प्याड ड्रम, देव राईले वेस गिटार र प्रभात लामाले रिदम गितार वादन गरेका थिए। कार्यक्रममा नृत्य शिरोमणि भैरवबहादुर थापालाई सम्मान गरिएको थियो।

फाउन्डेसनकी अध्यक्ष चन्द्रज्योति आलेले क्यान्सर रोगीहरूको सहयोगार्थ कार्यक्रम गर्न पाएकोमा गायिका थापालाई आभार प्रकट गरेकी थिइन्। ‘गायिका थापा ब्रेष्ट क्यान्सर जितेर आएकाले उनलाई नै प्रतिनिधित्व गराएर स्वर्णिम साँझ गरिएको हो। गायिका थापाको उर्जा देखेर अरू क्यान्सर रोगीको पनि आत्मबल बढाउन सहयोग पुग्नेछ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्