बाढीले बगाउँदा युवक बेपत्ता, गण्डक ब्यारेजका सबै ढाेका खोलिए



नवलपरासी। 

लगातारकाे वर्षासँगै नारायणी नदीमा आएको बाढीले बगाउँदा  शनिवार स्थानीय एक युवक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता प्रनाउ रेशम बाेहाेराका अनुसार नदीले बगाई बेपत्ता हुनेमा सुस्ता ५ सदिनहीका ३३ वर्षीय अर्जुन चमार रहेका छन् ।बाढीले बगाएर  ल्याएकाे दाउरा छोप्ने क्रममा चमार नदीको भेलमा परि बेपत्ता भएका हुन् ।

 नदीमा बगेर बेपत्ता भएका चमारकाे प्रहरी र स्थानीयद्वारा खोजी गर्ने कार्य भइरहेको छ ।

जिल्लामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जनजीवनलाई प्रभावित पारेको छ । भारी वर्षाका कारण पहाडी कालीगण्डकी करिडाेर, उत्तर दक्षिण कुमसाेद पाेखरी मुख्य  सडक अवरुद्ध रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गकाे दाउन्ने खण्डमा सडक आवागमन एक तर्फी छ भने जिल्लाका अधिकांश खोलानालामा जल सतह बढेकाे बताइएको छ ।
यसैबीच दिउँसो  २ बजे जिल्लाकाे पूर्वी क्षेत्र गैडाकाेट २ बाेटेटाेलमा नारायणी नदीको बाढी पसेपछि स्थानीय बाेटेटाेलका २०/२५ घरका मानिस,पशु चाैपाया तथा अन्नपात नजिकै रहेको टाेल  सुधार समितिकाे ट्रस्टमा सारिएको प्रहरीले जनाएको छ ।

 प्रमुख जिल्ला अधिकारी अरूण पाेख्रेलले मनसुन प्रतिकार्य याेजना अन्तर्गत जिल्ला स्थित सबै सुरक्षा अंङ्गहरूलाई तयारी अवस्थामा राखिएकाे बताए ।
उनका  अनुसार सबै स्थानीय निकायहरूसंग समन्वय गरी सुरक्षा सतर्कता अपनाउन माइकिङ गर्ने, खाेला नदीछेउ नजान सुचित गर्ने कार्य भई रहेको छ ।

विशेष गरी  गण्डकी क्षेत्रमै अझ केही समय वर्षा जारी रहने देखिएकाले नारायणी नदी आसपासका गाउँ बस्तीमा बाढी पस्ने सम्भावनाले स्थानीयलाई त्रसित गरेको छ ।

नारायणी नदीमा गरिएको जल स्तर मापनमा देवघाटमा नदीको बहाव सतर्कताकाे तह भन्दा माथि  पुगेको छ भने साँझ त्रिवेणी स्थित गण्डक व्यारेजमा २ लाख ९३ हजार क्युसेक रहेको बताइएको छ ।

नारायणी नदीमा पानीकाे जल स्तर बढ्दै गएपछि ब्यारेजका ३६ वटै ढाेका खाेलिएकाछन् । यद्यपि जिल्लाकाे तराई क्षेत्रमा मध्यान्ह पछि पानी पर्नेक्रम रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्