वर्षासँगै खसेको पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध, सडक खुलाउन समस्या



म्याग्दी।

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको निरन्तरको वर्षासँगै पहिरो खसेर मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्गको म्याग्दी खण्ड अवरुद्ध बनेको हो ।

बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैंसरीको दुई ठाउँमा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडकभन्दा माथिबाट खसेको पहिरोले आज (शनिवार) बिहानैदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

वर्षासँगै सडक माथिबाट खसेको लेदोसहितको माटो, ढुङ्गा, बालुवा, गेगर तथा ठूल्ठूला चट्टाले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । उनका अनुसार बेनी–जोमसोम–कोरला सडकखण्डको माथिल्लो र तल्लो बैंसरीको दुई ठाउँमा गरी ५० मिटरभन्दा बढीको दूरीमा सडक अवरुद्ध भएको छ । निरन्तर पहिरो खसिरहेको हुँदा सडकको अवरोध हटाउन समस्या भैरहेको छ ।

वर्षाको कारण खसेको पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउन बेनी–जोमसोम–कोरला सडक योजनाको प्राविधिक तथा उपकरणहरु तयारी अवस्थामा राखिएको छ । तर निरन्तर परेको वर्षा र पहिरो खसिरहेको हुँदा अवरुद्ध सडक खुलाउन समस्या भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

पहिराले सडक अवरुद्ध भएपछि मुस्ताङबाट म्याग्दीसहित देशका विभिन्न स्थानका लागि छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन बैंसरी नजिकै तिप्ल्याङमा रोकिएका छन् । यसैगरी म्याग्दीको बेनी हुँदै देशका विभिन्न ठाउँबाट मुस्ताङका लागि छुटेका सवारीसाधनहरु पनि बेनी र गलेश्वर क्षेत्रमा रोकिएका छन् । वर्षाले सडक अवरुद्ध हुनुका साथै यात्रा जोखिमपूर्ण भएकाले प्रहरीले सवारीसाधन र यात्रुलाई सुरक्षित स्थानतर्फ फर्काएको जनाएको छ ।

यसैबीच पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडक पनि आज बिहानैदेखि अवरुद्ध भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनेको प्रहरीको भनाइ छ । अवरुद्ध सडक खुलाउन प्राविधिक र उपकरण तयारी अवस्थामा राखिएको भए पनि पहिरो खस्ने क्रम नरोकिएको हुँदा सडक खुलाउन सकिएको छैन।

बेनी–दरबाङ सडक म्याग्दीको रणनीतिक योजना अन्तर्गत सडकका रुपमा रहेको छ । यसले पश्चिम म्याग्दीको मंगला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जिल्लालाई जोड्ने गर्दछ । दुई जिल्ला जोड्ने सडकको रुपमा अगाडि बढाइएको बेनी–दरबाङ सडकलाई म्याग्दीको लाइफलाइन मानिन्छ ।

दुई दिनदेखि निरन्तरको भारी वर्षाले जिल्लाको ग्रामीण भेगका सडकहरु समेत हिलाम्य बनेका छन् । गाउँका सडकहरु पनि हिलाम्य भएपछि यात्रामा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्