वाग्मतीमा फसेका ३ जनाको उद्धार



काठमाडौँ।

सशस्त्र प्रहरी बल नेपालले वाग्मती नदीमा फसेका तीनजनाको उद्धार गरेको छ । कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै वाग्मती नदीमा फसेका मकवानपुरका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामाको सशस्त्र प्रहरी बल नेपालको गोताखोरले सकुशल उद्धार गरेको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार गण सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा पाँचजना गोताखोरसहित १५ जना र नं १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको थापाले बताए ।

५६ जनाको उद्धार

यसैबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रमा बाढीले डुबानमा परेका १८ टहरामा बस्ने ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

उद्धार गरिएकामा ३० जना पुरुष, २० महिला र छजना बालबालिका रहेका कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उपत्यकाका तीनवटै जिल्लामा सम्भावित विपद् व्यवस्थापन तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्