काठमाडौँ।
सरकारका युवा सचिव कृष्णहरि पुष्करले शनिवार बिहान मर्निङ वाक गर्ने क्रममा पैदलयात्रा मार्फत नै काठमाडौँ रिङरोडको पुरै परिक्रमा गरेका छन् ।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव पुष्करले शनिवार बिहान २९ किलोमिटरमा फैलिएर रहेको काठमाडौको रिङ रोड ५ घण्टा ४० मिनेटमा फन्को मारेका हुन् ।
पानी परिरहेकै अवस्थामा उनले छाता ओढेर २९ किलोमिटरको दूरी पैदलयात्रा मार्फत नै पूरा गरेका हुन् । पैदल यात्रा सम्पन्न भएपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो पैदल यात्राको अनुभूति शेयर गर्दै २९ किलोमिटर यात्रा निकै रोमाञ्चक र साहसिक भएको उल्लेख गरेका छन् ।
बिहानको मर्निङवाकलाई उच्च प्राथमिकतामा राख्दै आइरहेका उनले दिनहुँ जसो नै मर्निङवाकमा लामो यात्रा पार गर्ने गरेका छन् । उनले शनिवार विहानको मर्निङवाक निकै रमाइलो, साहसिक र वर्षासँगको अन्तरक्रियाले थप रोमाञ्चित भएको अनुभूति फेसबुक मार्फत शेयर गरेका छन् ।
सचिव पुष्करले आफ्नो फेसबुकमा लेखेका छन् ‘आज धूलो धुवाँ नभएको मौका छोपी रिङरोडको पुरै पैदल परिक्रमा र अलिकति थप सहित सबै गरी ३७,००० स्टेप्स , ५ः४० घण्टा सम्मको लागतमा करिब २९ किलोमिटर यात्रा सम्पन्न । आजको यात्रा रमाइलो , साहसिक र वर्षासँगको अन्तरक्रियाले थप रोमाञ्चित बनायो । ’
पुष्करले रिङरोडको २९ किलोमिटर दूरी पार गर्दा देखेको सडक र वाग्मती नदीको दुरावस्थाका बारेमा भने केही उल्लेख गरेका छैनन् । उनले यस अघि अर्थ मन्त्रालयमा २ पटक सचिवको जिम्मेवारी बहन गरिसकेका छन् । उनी निजामती सेवामा निकै सक्रिय र चल्ताफुल्ता सचिवको रुपमा परिचित छन् । पुरै रिङरोड पैदलयात्रा मार्फत घुमेर सबै कुरा प्रत्यक्ष देखेका यी सहसिक र फुर्तिला सचिवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहँदा काठमाडौँ र यहाँको रोडहरुको दुरावस्थाका बारेमा अनुगमन गरी गुणात्मक सुधार ल्याउने तथा वाग्मती लगायत यहाँका अन्य नदीहरुमा हुँदै आइरहेको सरसफाइ अभियानलाई सफल बनाउने भूमिका निर्वाह गर्न सक्लान वा नसक्लान त्यो भने हेर्न बाँकी रहेको सरोकारवालाले बताएका छन् ।












प्रतिक्रिया