हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह

79.24k
Shares

भक्तपुर ।

भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्न थालेको छ ।

भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ ।

वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताए ।

जिल्लास्थित विपद् व्यबस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उनले बताए । कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने उनले बताए । बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।