ललितपुरमा प्रहरीको छापा : ५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ



काठमाडौं ।

ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घरमा छापा मारेको छ । ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको रुममा प्रहरीले छापा मारेको हाे  ।

त्यहाँबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् । अवैध रूपमा सुनको कारोबार गर्ने गरेको सूचनापछि प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको हो ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्ले जिल्ला घर भई ललितपुरको ताल्छिखेलमा फ्ल्याट लिएर बसेका २८ वर्षीय युवराज विभूते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभूते, भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवा बस्ने २० वर्षीय सिद्धान्त चौलागाई र महालक्ष्मी नगरपालिका- ८ बस्ने २० वर्षीय यसवन्त सुनार छन्।

 उनीहरूसँगै सुनजस्तो देखिने पहेँलो धातु १६९.९७० ग्राम, चाँदीजस्तो देखिने धातु २४७.२५० ग्राम, डिजिटल तराजु एक थान तथा विभिन्न कम्पनीका मोबाइल ७ थान पनि प्रहरीले बरामद गरेको छ । साथै हार्डडिक्स, मिककार्ड तथा बैंक भौचरसहित ५० लाख चार हजार नगद र सुन पगाल्ने मेसिन बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्