ज्यामिरेमा नवनिर्मित चिस्यान केन्द्रको उद्घाटन

154
Shares

उदयपुर ।
चौदण्डीगढी नगरपालिका– ९ मा नवनिर्मित चिस्यान केन्द्रको नगर प्रमुख कालुमान लामाले उदघाटन गरेको छ । बुधबार नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठ, वडा अध्यक्ष एवम् नगर प्रवक्ता प्रकाश राउत, नगरपालिकाका लेखा प्रमुख अम्मर थापा लगायतद्वारा संयुक्त रुपमा चिस्यान केन्द्रको उदघाटन गरेको हो ।
संघीय सरकारद्वारा विनियोजित २५ लाख ४८ हजार ६ सय २ रुपैया लागतमा ४ टन क्षमताको चिस्यान केन्द्र नगरको वडा नम्बर ९ पश्चिम ज्यामिरेमा निर्माण गरिएको हो । नगर प्रमुख कालुमान लामाले चिस्यान केन्द्र निर्माण सम्पन्न भएर उदघाटन हुदै गर्दा अब पश्चिम ज्यामिरे लगायतका क्षेत्रका कृषकले कृषिमा आत्मनिर्भर हुने गरि काम गर्नु पर्ने बताए ।
नगर प्रमुख लामाले कृषकहरुलाई अब आलु सब्जी लगायतका कृषक उपज उत्पादन गरेर यस चिस्यान केन्द्रमा राख्ने र अफ सिजनमा बजारमा लगेर सब्जी बेचबिखन गर्ने हो भने कृषक दाजुभाइले राम्रो आम्दानी गर्न सक्ने भन्दै सम्पूर्ण कृषकलाई कृषिमा आत्मनिर्भर बन्ने गरि काम गर्न आग्रह गरे ।
लामाले कृषि क्षेत्रमा ठुलो फड्को मार्ने सोच सहित नगरपालिकाले एउटा छुट्टै प्लान बनाएर काम गरिएको हुनाले पनि सम्पूर्ण कृषकलाई कृषिमा आत्मनिर्भर हुने गरी काम गर्न जोड दिए ।
नव निर्मित चिस्यान केन्द्रको निर्माण अत्यन्तै राम्रो अर्थात सुगम ठाउँमा भएको भन्दै सबै तीरका कृषक एवम् सब्जी को ब्यवसाय गर्ने व्यवसायीलाई चिस्यान केन्द्र आउन जान सहज हुने भएकोले पनि यस चिस्यान केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताए ।
वडा अध्यक्ष प्रकाश राउतले चिस्यान केन्द्र निर्माण गर्न वडाले ठुलो पहल गरेको भन्दै यसलाई समयमा निर्माण सम्पन्न गर्न आफु रातदिन नभनी निर्माण ब्यबसायीसंगै बसेर काम गराएर समयमा काम सम्पन्न गर्न सफल भएको बताए ।
अध्यक्ष राउतले नगरमै पहिलो पटक पश्चिम ज्यामिरेमा कृषि बजारका लागि दर्ता प्रक्रिया देखि सबैखाले काम सम्पन्न गराएको बताउदै यस पश्चिम ज्यामिरेलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने सोच अनुसार चिस्यान केन्द्रको निर्माण समेत यहीं गरिएको बताए ।