गंगानारायण श्रेष्ठद्वारा विपद् व्यवस्थापन गर्न गोताखोर तालिम समापन



काठमाडौं  ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित सि.सं. ५ गोताखोर तालिम बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यमा बिहीबार समापन भएको छ ।

श्रेष्ठले तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी जवान बिरेन्द्र कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुकासाथै जोखिमपूर्ण गोताखोर तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिएका छन्  । 

उनले मनसुनजन्य विपद् शुरु भईसकेको अवस्थालाई ध्यानमा राखि सशस्त्र प्रहरी कर्मचारीहरुले तालिममा सिकेको ज्ञान, कला र कौशललाई प्रयोग गरी कार्यक्षेत्रमा परिस्थिती अनुरुप परिचालित हुनुपर्नेे बताउँदै आफ्नो जिवनको प्रवाह नगरी गरेको सेवाले आपतविपद्मा परेका नागरिकहरुको जीउ धनको सुरक्षा गर्नु उदाहरणीय कार्य गरेका बताए  ।

आन्तरिक मामिला तथा कानूनमन्त्री श्रेष्ठले गोताखोर तालिम व्यक्तिगत बृत्तिविकासको लागि नभई आम नागरिकको जीउ धनको सुरक्षा कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै  यस्ता किमिसका तालिम संचालनको लागि बाग्मती प्रदेश सदैव सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता  रहेको बताए  । 

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले संगठनलाई प्राप्त जिम्मेवारीहरु मध्ये विपद् व्यवस्थापन पनि महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै यस तालिम शिक्षालयले विपद् व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी देशका विभिन्न भू–भागहरुमा घटेका विपद्का घटनाहरुमा सक्रिय भई खोज तथा उद्वार कार्य गरिरहेको जनकारी दिए । उनले  विपद् उद्वार अत्यन्तै संवेदनशिल, जोखिमयुक्त र कठिनपूर्ण कार्य रहेको चर्चा गर्दै  यस्ता कार्यमा खटिदा सशस्त्र प्रहरी बल नेपालका उद्धारकहरु सदैव शारिरीक, मानसिक तथा पेशागत रुपमा दक्ष हुन जरुरी रहेको बताए  । 

अतिरिक्त महानिरीक्षक दाहालले नेपाल सरकार तथा प्रादेशिक सरकारको सहयोगमा २०७६ सालदेखि नै सशस्त्र प्रहरी बल नेपालले देशभित्रै गोताखोर तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गरी विपद्मा परेका नागरिकहरुको सहयोग तथा उद्वारको लागि देशैभर परिचालन गर्दै आईरहेको समेत बताए । 

कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए  । 

पाँच हप्ता अवधिको उक्त तालिममा १९ जना  सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराईएको थियो ।  कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका थिए । यो सँगै सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको संख्या १ सय १० पुगेको छ ।
कार्यक्रममा माननीय बाग्मती प्रदेशका सांसद कृष्ण प्रसाद सिलवाल, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुखहरु, प्रदेश तथा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्