खोटाङमा ५ सय २४ घरधुरी बाढी-पहिरोको उच्च जोखिममा

14
Shares

खोटाङ ।

खोटाङमा ५ सय २४ घरधुरी बाढी तथा पहिरो उच्च जोखिममा रहेका छन् । जिल्लाभर ८५ घरधुरी बाढी र ४ सय ३९ घरधुरी पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयको हालै गरेको सर्वेक्षणले देखाएको हो ।

ऐसेखुखर्क गाउँपालिकाको–१ राखाबाङ्देल र ३ नम्बर वडाका ऐसेलुखर्क, रावाबेँसी गाउँपालिका– १ कुभिण्डे र वडा नम्बर–६ हौँचुर, हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थान र वडा नम्बर ९ सल्ले तथा केपिलासगढी गाउँपालिका–४ बाक्सिला र वडा नम्बर ७ सुङ्देल बाढी तथा पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेका जिल्लामा अधिकांश वडाहरु पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लामा हुनसक्ने विपद्जन्य जोखिमलाई न्यूनिकरण गर्न २४ घण्टे आपतकालीन सेवा शुरु गरेको जनाएको छ । मनसुन शुरु भएसँगै जिल्ला प्रहरी कार्यालयको १०० नम्बरको हटलाइन सेवा सञ्चालन गरेर २४ घण्टे आपतकालीन सेवा शुरु गरेको छ ।

यसैबीच, जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिसमेत तयारी अवस्थामा रहेको जिल्ला बिपद् ब्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभएको छ ।

जिल्लामा हुनसक्ने विपद् व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय तथा रेडक्रसलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रजिअ कार्कीको भनाई छ। उद्धार तथा राहत वितरणका लागि जिल्लास्थित सबै स्थानीय तहलाई समेत आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहन पत्राचार गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।