पंचम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ सार्वजनिक 



काठमाडौं ।

आख्यानकार पंचम अधिकारीको नवीनतम कथासङ्ग्रह प्रवासीको देश हुन्न लोकार्पण भएको छ। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन्।

कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासङ्ग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे । उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामर्थ्य हो ।’

त्यस्तै, समीक्षक बानियाँले आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने तर अधिकारीको कथासङ्ग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए। ‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बीजारोपण गरेको छ।’ त्यसैगरी समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन्। ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अतियथार्थवाद र जादुयी यथार्थवाद र अधिआख्यानको प्रयोग सफल छ।’

यसअघि लेखकको ‘पथिक प्रवासन’ (२०६७) प्रकाशित छ। प्रवासीको देश हुन्न संग्रहमा १४ वटा कथा समावेश छन्। शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्