स्वास्थ्य क्षेत्रमा विकृति



नेपाल सरकारले स्वास्थ्य उपचारका लागि कुल बजेटको ४ दशमलव २ प्रतिशत छुट्याएर आलोचित भइरहेको बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले विदेशी दातृ निकायहरुले सहयोगस्वरुप उपलब्ध गराउने रकम आधाभन्दा बढी तिनै निकायका कर्मचारीको तलब, भत्ता र तालिमका नाममा बिचौलियामार्फत कार्यक्रम गरी सक्ने गरेको खुलासा गर्नु दुःखद विषय हो।

सरकारको मातहतमा आउने सहयोगका लागि दातृ निकायले तोकेका एनजीओ, आईएनजीओमार्फत स्वास्थ्य सेवाका लागि दिइने रकम सीधै अर्थ मन्त्रालयसँग सेटिङ मिलाएर खर्च देखाउने बाटो खुल्ला गर्नु सरकारको कमजोरी रहेको कुरा सरकारकै जिम्मेवार मन्त्रीले सार्वजनिक गर्नु लज्जाजनक हो। स्वास्थ्य सेवाका लागि आउने रकम सरकारले सीधै स्वास्थ्य मन्त्रालयसँग सम्झौता गराउनुको सट्टा अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारीसम्म नगराई सम्झौता गरिसकेपछि मात्र बोधार्थ पठाउने र कागजमै बजेट सकिने देश र नागरिकको लागि दुर्भाग्यको कुरा हो ।

मन्त्री यादवले ग्लोबल फन्डबाट आएको करिब ६ अर्बमा ३ अर्ब बिचौलियाले यो वा त्यो बहानामा तलब–भत्तामा खर्च गर्ने र सरकारले सीधै काम गर्न खोज्दा डकुमेन्ट मिलेन भन्दै झन्जट दिएर बीचको संस्था हुनुपर्छ भन्ने अनि सरकारलाई सीधै काम गर्न नदिने गरेकोसमेत खुलासा गर्नुभयो । नेपाली जनताको स्वास्थ्य उपचारका नाममा आउने ठूलो बजेट दुरुपयोग हुने गरेको भन्दै मन्त्रालयमा व्यापक छलफल थालिनु सकारात्मक कुरा हो । स्वास्थ्यका लागि आउने सहयोग बिचौलियामार्फत आउने भए रोकिदिने स्वास्थ्य मन्त्रालयले चेतावनी दिनुले देशमा कति आर्थिक दुरुपयोग भएको छ भन्ने प्रस्ट्याउँछ । स्वास्थ्य मन्त्रालयले हामी सक्षम छौं भन्दाभन्दै दातृ निकायका प्रतिनिधि र अर्थ मन्त्रालयले अनेक बहाना बनाई बिचौलिया भित्र्याउँछन् । ‘अब स्वास्थ्य मन्त्रालयसँग सल्लाह नलिई सम्झौता भयो भने कार्यान्वयन हुँदैन, बिचौलिया रहने बजेट चाहिन्न’ भनिए पनि अस्थिर सरकार भएको मौका छोपी दातृ निकायका प्रतिनिधि र बिचौलियाले फाइदा उठाएकै कारण स्वास्थ्यका कार्यक्रम भद्रगोल भएको स्वास्थ्यमन्त्री यादवको ठम्याइ छ ।

दाताले दिएको सहयोगको मात्र कुरा होइन, नेपाल सरकारकै मातहतमा रहेको वीर अस्पतालमा आकस्मिक अनुगमनमा जाँदा आकस्मिक कक्षमा एउटै बेडमा तीनजनासम्म बिरामी राखेको देखेपछि मन्त्री यादवले स्वास्थ्य सेवामा निकै विचलन आएको अवस्थाको सुधारका लागि अनुसन्धान गर्ने अभियान थाले पनि सरकार परिवर्तनको अर्को लहर चल्नाले नागरिकको स्वास्थ्य सुधारको अपेक्षा कसरी गर्ने ? मन्त्री यादव वीर अस्पताल पुग्दा जताततै भद्रगोल र अस्थिरता मात्र पाएकोले सुधारका लागि सरकारले कडाइका साथ निगरानी गर्नुपर्ने ठम्याइसहितको अनुभव उहाँले पत्रकारसमक्ष राख्नुभयो। सरकार पनि त्यो परिस्थिति निम्त्याउने दोषी भएको ठहरसहित पत्रकारसमक्ष राय–सुझाव लिई नयाँ नीति बनाएर अघि बढ्ने मन्त्री यादवले घोषणा गरेकै दिन सरकार परिवर्तनको संघारमा पुगेको छ।

जे होस्, हाल स्वास्थ्य मन्त्रालयमा दुईजना सचिवसहित ६ जना विशिष्ट श्रेणी (सचिवसरह) का कर्मचारी हुनुहुन्छ । उहाँहरुको अनुभव र विज्ञतालाई प्रयोगमा ल्याइयोस् । तोकिएको समयावधिभित्र गर्नै पर्ने कामको निर्धारण गरी काम गर्ने वातावरण बनोस् र स्वास्थ्य सुधारका लागि काम गरियोस् ।

प्रतिक्रिया दिनुहोस्