रास्वपामा रविलाई मुकुल भारी



काठमाडौं ।

टेलिभिजन प्रस्तोता रवि लामिछाने र उनका सबैभन्दा निकट मानिएका मुकुल ढकालको साझा प्रयासमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा भाँडभैलो भएको छ।

महामन्त्री मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति प्रश्न उठाएपछि उक्त दलको आन्तरिक बेमेल छताछुल्ल पोखिएको हो।

सभापति लामिछानेले कार्यशैली नसच्याउने हो भने सक्किने जनाउ दिएका महामन्त्री ढकालले देश दौडाहाबाट फर्किएपछि बनाएको प्रतिवेदन सार्वजनिक हुनुपर्ने र पार्टीको बैठकसमेत प्रत्यक्ष प्रसारण गर्न माग गर्नुभएको थियो।

बुधबार बसेको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले यी दुवै माग अस्वीकार गरेपछि महामन्त्री ढकालले पार्टीमा वाक स्वतन्त्रता नरहेको भन्दै मुखमा कालो टेपसहितको मास्क लगाएर बैठकमा उपस्थित हुनुभयो।

उहाँले यो प्रस्तुतिले सहकारीलगायत काण्डले तनावमा परेका पार्टी सभापति रवि लामिछानेलाई पार्टीभित्र समेत तनाव उत्पन्न भएको छ। लामिछानेका लागि उहाँकै निकट मानिएका र पार्टी निर्माणमा समेत सबैभन्दा ठूलो बल पु¥याएका महामन्त्री ढकाल भारी बन्न पुग्नु भएको छ।

पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा ढकालले सार्वजनिक गरिरहेको एक दस्तावेजमा लामिछानेलाई सच्चिने कि… ! भन्ने उल्लेख छ।

‘मेरा कुराहरू सुनेर सभापतिज्यू, केन्द्रीय सदस्यज्यूहरू कोही पनि नरिसाउनु होला । सच्चिऔं । मैले म चै नसच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन । मैले खालि सच्चिनुअघि केही गल्तीहरू गरेँ होला । म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने । किनकि, प्रश्न आइसक्यो ? सच्चिने कि…. ? भो अर्को शब्द नबोलौं होला’ –ढकालले भन्नुभएको छ ।

कांग्रेस, एमाले, माओवादीको पछि लागेको भन्दै पार्टी सभापति रवि लामिछानेमाथि प्रश्न उठाएका छन् । ‘सभापतिज्यू, झिँगासँग उडियो भने ‘…’ मा पुगिन्छ । मौरीसँग उड्यो भने ‘मह’ मा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ । मौरीसँग उडौं, जनतालाई मह खुवाऔं’ –उहाँले भन्नुभएको छ।

शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालसँग निरन्तरका तस्बिरहरू आइरहेको भन्दै अब उनीहरूसँगै दाँजेर लामिछानेलाई को कति ठीक भन्ने बेला आइसकेको समेत बताएपछि पार्टीभित्र थप हंगामा भएको थियो । बुधबार बिहान ८ बजेबाट शुरू भएको बैठकमा नेताहरूले साँझसम्म छलफल गरेका छन्।

पार्टी सरकारमा गएपछि जनतामा निराशा बढेको र रवि लामिछानेको पछिल्लो कार्यशैलीले पार्टीभित्र थप समस्या सिर्जना गरेको नेताहरूले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्