अख्तियारका सदस्य अमात्यको घरको पर्खालमा महानगरपालिकाको डोजर

छानबिन र सोधपुछ नगरी पर्खाल भत्काएको अमात्यको आरोप



ललितपुर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य डा. सुमित्रा अमात्यको ललितपुर–१० स्थित घरको पर्खाल ललितपुर महानगरपालिकाको टोलीले भत्काएको छ।

मन्दिर र गुठीको जग्गा मिचेको भन्दै महानगरपालिकाले डोजर लगाएर घरको पर्खाल भत्काएको हो । तःननीको गुठी जग्गा अतिक्रमण गरेको भन्ने स्थानीयको उजुरीका आधारमा महानगरपालिकाले पर्खाल भत्काएको मेयर चिरिबाबु महर्जनले बुधबार महानगरपालिकामा आयोजित पत्रकार भेटघाटमा बताउनुभयो।

आयुक्त अमात्य अख्तियारको कामले नेपालगञ्ज गएको बेला कुनै सूचना नदिई बुधबार दिउँसो महानगरपालिकाले नगरप्रहरीहरू लगाएर पर्खाल भत्काएको थियो । गुठीको जग्गा मिचेर पर्खाल बनाएको भन्दै केही स्थानीयले धेरै समयअघि महानगरपालिकामा उजुरी दिएका थिए। मेयर महर्जनले स्थानीय र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको बताउनुभयो। तर, आग्रह अस्वीकार गरेपछि मन्दिरको जग्गा संरक्षणका लागि डोजर चलाएको मेयर महर्जनको भनाइ रहेको छ।

तर, अमात्य परिवारले आफ्नो घरको पर्खालले त्यहाँको मन्दिर, देवस्थल र सरकारी जग्गा नमिचेको दाबी गरेका छन्। १५ आना तीन पैसा क्षेत्रफल रहेको सो घरजग्गा अमात्य परिवारले २०७८ सालमा असोज १ गते एक गुरुङ परिवारसँग किनेका थिए । घर जग्गा खरिद गरेपछि अमात्य परिवारले पर्खाल लगाएको महानगरपालिकाका मेयर महर्जनको भनाइ रहेको छ। मेयर महर्जनको भनाइलाई अस्वीकार गर्दै आयुक्त अमात्यले भन्नुभयो– ‘सो घर २०३४ सालमा नक्सा पास गरी सोहीअनुरूप बनेको थियो। हालको पर्खालको संरचना त्यतिबेला पनि रहेको थियो ।’

२०३४ सालको तस्बिर समेत देखाउँदै उहाँले गत वर्ष पुरानो पर्खाल भत्काएर नयाँ बनाउनेबाहेक केही फेरबदल नगरिएको दाबी गर्दै प्रश्न गर्नुभयो– ‘त्यतिबेला नै जग्गा मिचेको भए महानगरपालिकाले यतिका वर्षसम्म के हेरर बसेको हो त ? कसैले उजुरी दियो भन्दै छानबिन र सोधपुछ नगरी कामकारबाही अघि बढाउन पाइन्छ ? महानगरले प्राकृतिक न्यायको सिद्धान्तविपरीत काम गरेको छ ।’

आफ्नो पर्खालसँग जोडिएको जग्गा सार्वजनिक बाटो भएको र त्यसको छेउमा सहरी विकास मन्त्रालयले पार्क बनाएको भन्दै घरधनी अमात्यले आफूले जग्गा मिच्नुपर्ने कुनै कारण आवश्यकता पनि नभएको बताउनुभयो ।

लालपुर्जामा पर्खाल बाहिरको जग्गा नेपाल सरकारको बाटो भनी देखाएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘लालपुर्जामा गुठी संस्थान ललितपुरको चलानी नं ६६० र मिति २०८० फागुण २० को पत्रानुसार स्रेस्ता उतार गर्दा कित्ता नं ३५१ मन्दिर, देवस्थल भनेर उल्लेख गरिएको छ। यसरी लालपुर्जामा कुन देवस्थल कुन सरकारी जग्गा भनेर स्पष्ट लेखिएको छँदाछँदै महानगरपालिकाले पर्खाल डोजर लगाएर पर्खाल भत्कायो, त्यो पनि बिना सूचना ।’

प्रतिक्रिया दिनुहोस्