रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहकको जिम्मेवारी बुर्लाकोटीलाई



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले सात दिनका लागि निलम्बन गरिएको रास्वपाले जनाएको छ। रास्वपाको कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई तोकिएको छ भने प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिएको छ।

त्यस्तै रास्वपाले ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। उनले नै तयार पारेको प्रतिवेदनमाथि रास्वपामा दिनभर छलफल भएको थियो। निलम्बनमा परेपछि महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई कारबाही गरेको गुनासो गरेका छन् ।

ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको आरोप लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्