सडक सौन्दर्यीकरणका लागि वृक्षारोपण



उदयपुर ।

गाईघाट दिक्तेल सडक योजनाको त्रियुगा नगरपालिका वडा नं १० स्थित बोक्से करमगाछीदेखि बरुवापुल सम्मको एक किलोमीटरमा सडक सौन्दर्यीकरणकालागि डिभिजन वन कार्यालय गाईघाटले बृक्षारोपण गरेर सडकलाई आकर्षक र सुन्दर बनाउने काममा सहयोग गरेको छ ।

गाईघाट दिक्तेल सडक योजनाको सगरमाथा लोकमार्गको दाँया वाँया दुबैतिर नाला बनाइएको र नालालाई पछिसम्म असर नपर्ने गरी १ सय १० थान विभिन्न जातका बिरुवा रोपेर सुरक्षाकालागि जालीसमेत गाडिएको छ । डिभिजन वन कार्यालय गाईघाट उदयपुरका सूचना अधिकारी तथा वरिष्ठ वन अधिकृत जागेश्वर साहले करमगाछीमा करमको बोट बूढो भएर ढालिएपछि ठाउँको पहिचानकालागि करमको विरुवा रोपिएको र अन्य ठाउँमा पनि विभिन्न प्रजातीका विरुवाहरु सडकको सौन्दर्यता बढाउन सहयोग पुग्ने भएकोले बरुवा पुलसम्मको १ किमीको दुरीमा वृक्षारोपण गरेर बिरुवालाई गाई वस्तु बाख्रा पाठाले नखाओस भनेर संरक्षण्कालागि तारजालीले घेरिएको बताए ।

डिभिजन वन कार्यालय गाईघाटले विरुवा आफैले उत्पादन गरेको नर्सरीबाट निशुल्क उपलब्ध गराएको र सार्वजनिक स्थल तथा सडक सौन्दर्यीकरणका लागि अन्यत्र पनि विरुवा उपलब्ध गराइएको सूचना अधिकारी साहले बताउनु भयो ।
अहिले वर्षको समय रहेको र यो समयमा विरुवा रोप्दा पानी हालिरहनु नपर्ने, जमिन मुनिसम्म चिसो रहने भएकोले विरुवा हुर्कन सहज हुने भएको र विरुवा रोप्ने उपयुक्त समय पनि भएकोले वृक्षारोपण गरेको वरिष्ठ वन अधिकृत साहले बताउनु भयो ।

मंगलबार र बुधबार करमगाछीदेखि बरुवा पुलसम्मको एक किलोमीटर क्षेत्रमा नव उदयप सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा शुन्य लागतमा बृक्षारोपण गरेको हो । यसरी वृक्षारोपण गर्दा वातावरणमा सुधार हुने अक्सिजनको मात्रा पाइने, स्वच्छ हावाको प्रवद्र्धन हुन्छ ।

मर्निवाकमा निस्कने प्रत्येक नागरिककालागि स्वस्थ्यकर प्राकृतिक हावाकालागि पनि उपयुक्त हुने भएकोले र वस्तीको सुज्दरता बढाउन, पर्यटन प्रवद्र्धनमा सहयोग गर्न, मनोरञ्जनपूर्ण वातावरण बनाउन पनि मद्दत पुग्ने भएकोले वृक्षारोपणमा विशेष प्राथमिकता दिइएको सूचना अधिकारी साहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्