बेनीका घरघरमा स्वास्थ्यकर्मी: १७ सय ज्येष्ठनागरिक प्रत्यक्ष लाभान्वित



म्याग्दी ।
ज्येष्ठनागरिक, शारिरीक रुपमा अपाङ्गता र अशक्त तथा दिर्घ रोगीहरुलाई लक्षित गरेर सञ्चालित ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम प्रभावकारी बनेको छ । खासगरी ७० वर्षभन्दा माथिको उमेर समूहलाई लक्षित गरिएको घरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट ज्येष्ठनागरिकसँगै अन्य सर्वसाधारण पनि लाभान्वित भएका हुन् ।
म्याग्दीको बेनी नगरपालिकाद्वारा वडाको गाउँ, वस्ती र टोलमा पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न ज्येष्ठनागरिकलाई लक्षित गरी सुरु गरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यस खालको कार्यक्रमले नगरपालिकाको विभिन्न वडाबाट स्वास्थ्य सेवा लिनकै लागि सदरमुकाम बेनीबजारसम्म झर्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै ज्येष्ठनागरिकलाई लाभ पुगेको हो ।
वि.सं. २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट बेनी नगरपालिकाको प्रमुखमा सुरत केसी र उपप्रमुखमा ज्योति लामिछानेसहितको नयाँ टिम निर्वाचित भएर आएपछि नगर क्षेत्रभित्र रहेका ज्येष्ठनागरिकलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको हो ।
नगर प्रमुख केसीले आफू निर्वाचित भएपछि पदभारग्रहण गर्ने क्रममा नै पहिलो निर्णय ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी परिचालन गर्ने कार्यक्रम घोषणाका लागि हस्ताक्षर गर्नुभएको थियो ।  अहिले सोही कार्यक्रम बेनी नगरपालिकाको ८ वटा वडामा प्रभावकारी रुपमा सञ्चालन भैरहेको छ । वि.सं. २०७८ सालको जनगणनाअनुसार घरधुरी सङ्ख्या ८ हजार ६ सय ५२ रहेको म्याग्दीको बेनी नगरपालिकामा कुल जनसङ्ख्या भने ३२ हजार ६ सय ९७ रहेको छ ।
यसमध्ये पुरुष १५ हजार ३ सय ६१ र महिला १७ हजार ३ सय ३७ जना छन् । यस नगरपालिका कुल ७६ दशमलव २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । १० वटा वडा रहेको बेनी नगरपालिका क्षेत्रमा यो कार्यक्रम ७ र ८ नम्बर वडा बेनीबजारबाहेक अन्य वडामा नियमित रुपमा सञ्चालन भैरहेको छ । प्रत्येक महिनाको एकपटक बेनीका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्यकर्मीहरु घरघरमा पुग्छन् ।
घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमको उद्देश्य रोग तथा स्वास्थ्य समस्याको समयमा नै पहिचान गरी ज्येष्ठनागरिकको उपचारमा लाग्ने खर्च घटाउने, प्रत्येक महिना ज्येष्ठनागरिकको स्वास्थ्यलाई निगरानी गरी हेल्थ प्रोफाइल तयार गर्ने, घरघरमा पुगेर ७० वर्षभन्दा माथिका र असक्त नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, निगरानीपश्चात् आवश्यक औषधी दिने र मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने रहेको छ ।
यिनै उद्देश्यहरुको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि अहिले मासिक रुपमा कार्यक्रममार्फत ज्येष्ठनागरिक, अशक्त र अन्य सर्वसाधारण नागरिकलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै आवश्यक परामर्श सेवा प्रवाह भैरहेको बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०-०८१ मा यस कार्यक्रम कार्यान्वयन गर्नका लागि कुल आठलाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन भैरहेको छ । यस कार्यक्रमबाट ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिक र अशक्त बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
घरघरमा स्वास्थ्यकर्मीहरु परिचालन भएपछि हिँडडुल गर्न नसक्ने, ज्येष्ठनागरिक र अशक्तले घरमै उपचार सेवा पाएको हुँदा स्वास्थ्य अवस्थामा सुधार आएको बेनी नगरपालिकाले जनाएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले ज्येष्ठ नागरिकहरुलाई कम्तीमा पनि स्वास्थ्यकर्मीको पहुँचमा पु¥याउनको लागि घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको हुँदा यसबाट करिब १७ सयजना ज्येष्ठनागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित बनेको बताउनुभयो ।
बेनी नगरपालिकाले सुरु गरेको घरघरमा स्वास्थ्यकर्मी परिचालन कार्यक्रमको संघीय सरकारले समेत कपि गरेको नगर प्रमुख केसीको भनाइ छ । बेनी नगरपालिकाको विभिन्न वडामा रहेका स्वास्थ्यचौकी र सहरी स्वास्थ्य केन्द्रबाट खटिएर जाने स्वास्थ्यकर्मीहरुले ज्येष्ठनागरिक तथा बिरामी र सर्वसाधारणहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने गर्दछन् । उनीहरुले खासगरी सुगर तथा प्रेसरको चेकजाँच, दिर्घरोगीले नियमित रुपमा औषधी खाए, नखाएको तथा अन्य स्वास्थ्य समस्याहरुको बारेमा पनि जानकारी लिनेदिने गर्दछन् ।
नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रम अत्यन्त प्रभावकारी र अति आवश्यक रहेको भन्दै नगरवासीले समेत प्रशंसा गरेका छन् । घरघरमै आएर आफूहरुको स्वास्थ्य चेकजाँच गरेको, औषधी खाए नखाएकोबारे सोधेको तथा चेकजाँच गर्न भन्दै स्वास्थ्यकर्मीहरु पठाएकोमा ज्येष्ठनागरिकहरुले बेनी नगरपालिका र चेकजाँच गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । ज्येष्ठनागरिकले घरमै आएर स्वास्थ्यकर्मीहरुबाट चेकजाँच गर्दा सुगर, प्रेसर र अन्य रोगको बारेमा पनि आफूहरुले जानकारी पाएको अनुभव सुनाएका छन् ।
घरघरमा पुगेर प्रत्येक स्वास्थ्यकर्मीहरुको सुगर, प्रेसर, अक्सिजन तथा तापक्रमलगायत स्वास्थ्यवस्थाको बारेमा जानकारी लिने गरिएको स्वास्थ्यकर्मी सुप्रिया शाक्यले जानकारी दिनुभयो । घरघरमा पुगेर ज्येष्ठनागरिक तथा अन्य नागरिकमा भएका विभिन्न समस्याको पहिचान गर्नुका साथै उपचारका लागि परामर्श दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्