कलात्मक डिजाइनसहित “शान्ति ग्यालरी”को स्थापना



काठमाडौं ।

दश वर्षे द्वन्द्वपछिको शान्ति प्रक्रियाको सम्पूर्ण अभिलेख रहने गरी कलात्मक डिजाइनसहित “शान्ति ग्यालरी”को स्थापना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहले बुढानिलकण्ठ–७ स्थित छहारीको भवनमा बनेको शान्ति ग्यालरीको सोमवार राजधानीमा उद्घाटन गरिएको हो ।

सो अवसरमा शान्ति स्थापनाको लागि समग्र नेपाली महिलाले पु¥याएको योगदान झल्काउने “आराध्याती” सालिकको पनि अनावरण गरिएको थियो ।
ग्यालरीमा द्वन्द्वको समय र त्यसपछिका शान्ति स्थापना गर्न योगदान पु¥याउने समग्र नेपाली महिलासहित अभियन्ता, योद्धाको चित्र, फोटोहरु घटनाक्रमको वर्णनसहित राखिएका छन् ।

शान्ति ग्यालरीमा नेपालले झेलेको दस वर्षे जनयुद्ध र त्यसबाट नेपाली समाजलाई परेको प्रभाव, धेरै महिलाले एकल भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नुपरेको सङ्घर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगहरुका गतिविधीलाई तिथिमितिसहित चित्र र फोटोहरुमा हेर्न र पढ्न सकिने छ ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले भन्नुभयो,“नेपाली समाज व्यवस्थामा महिलालाई महत्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हिंसा हुने सम्भावना छ, एकल भएपछि भोग्नुपर्ने विडम्वनाको त बयान गरी साध्य छैन, यस्तो परिस्थतीमा लिली थापालगायतले जुटेर देखाएको हिम्मतले शान्ती ग्यालरीको स्थापना गरेर योगदान पु¥याउनुभएको छ ।”

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमानको मृत्युपछि बालबच्चासहित समाज र परिवारमा शान्ति कायम राखेर अगाडि बढ्न सक्ने शसक्त महिलाको योगदानलाई शान्ती ग्यालरी र आराध्याती सालिकका रुपमा अभिलेखीकरण गरिएको बताउनुभयो । उहाँले संस्कृत शब्दमा आराध्यातीको अर्थ बलिदानी र योगदानी हुने प्रसङ्ग उल्लेख गर्दै समाज व्यवस्थालाई जत्तिसुकै विपत्ती आइपरे पनि साहस र सुझ-बुझका साथ कायम राख्ने सबै महिला आराध्याती हुन्, भन्नुभयो ।

समूहका अध्यक्ष कविता पाँडेले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापा र आफु कम्बोडियाको भ्रमण जाँदा त्यहाँको शान्ति ग्यालरीको अवलोकन गरेपछि फुरेको विचारलाई नेपाल आएर मूर्त रुप दिने क्रममा शान्ति ग्यालरीको जन्म भएको जानकारी गराउनुभयो । नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलीसिटी भोल्कले नेपाली एकल महिलाको समूहले गरिरहेको महिला सशक्तिकरणको अभियान प्रेरणादायी र अनुकरणीय रहेको भन्दै प्रसंसा गर्नुभयो ।

सो अवसरमा युएन वुमन संस्थाका प्रमुख प्याट्रियाले एकजुट हुनु नै शक्ति हुन् भन्ने उदाहरण नेपाली एकल महिला समूहले प्रस्तुत गरेको र शान्ति ग्यालरीले सिङ्गै समाजलाई सशक्तिकरणतर्फ हिड्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । विकासका लागि साझेदार संस्था कुर्वे बु्रस्ट्रोका कन्ट्री संयोजक क्लेमेन्स रोसामानिथले नेपाली एकल महिलाको सशक्तिकरण र दुःखलाई बिर्सेर अगाडि बढ्ने सकारात्मक शक्तिको साछी बन्ने अवसरका लागि आफुलाई भाग्यवनी ठानेको बताउनुभयो ।

उहाँले समस्यालाई जुटेर समाधान गर्ने स्वभाव, दुःखबाट पनि पाठ सिक्ने-सिकाउने निक्कै प्रेरणादायी अभियानसँग जोडिन पाउनु कुर्वे बु्रस्टोका लागि समेत विशेष अवसर भएको बताउनुभयो । सो अवसरमा बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले एकल महिला समूहले लिएको सामुहिक हितको उद्देश्य र लक्ष्यले निक्कै गौरव लागेको बताउनुभयो ।

नेतृ पार्वती बिसङ्खेले छहारीमा स्थापना भएको शान्ति ग्यालरीमा आफ्नो विगतको कथा पनि अभिलेखिकरण गर्ने अवसर पाएको र सधैं महिला मानव अधिकारका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्