सम्पत्ति शुद्धीकरण विभागको सक्रियता

देव विकास बैंकका प्रबन्धक बुढाथोकीविरुद्ध १७ करोडको मुद्दा



काठमाडौं ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पछिल्ला दिनमा शुद्धीकरणसम्बन्धी मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ। यसै क्रममा विभागले मंगलबार देव विकास बैंकका तत्कालीन प्रबन्धक समीर बुढाथोकीविरुद्ध १७ करोड रुपियाँभन्दा बढीको मुद्दा दायर गरेको हो।

विभागमा कमलप्रसाद भट्टराई महानिर्देशक भएर आएपछि मुद्दा दायर हुने क्रम बढ्न थालेको पाइएको छ। विभागले केही दिन अघिमात्रै सम्पत्ति शुद्धीकरण गराउन खोज्ने काठमाडौं गोकर्णेश्वरका चन्द्रदीप राईविरुद्ध मुद्दा दायर गरेको थियो ।

बुढाथोकीले साबिक वेस्टर्न डेभलपमेन्ट बैंकको कोषमा रहेको १७ करोड ९९ लाख ९० हजार रुपियाँ अपचलन गरेको आरोपमा विभागले सोमबार जिल्ला सरकारी वकिल कार्यालय दाङमार्फत् उच्च अदालत तुलसीपुरमा अभियोग पत्र दायर गरेको जनाइएको छ।

यस्तै, बुढाथोकीले रकम अपचलन गर्ने मनसायले बैंकका अन्य कर्मचारीको युजर आईडीसमेत प्रयोग गरेको पाइएको छ। उक्त प्रकरणमा उहाँमाथि बैंकिङ कसुर मुद्दामा ७ वर्षको कैद सजायसमेत भइसकेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बुढाथोकीले ३६ वटा कृत्रिम कर्जा खाता खोली उक्त खाताबाट आफैंले सम्पूर्ण कर्जा रकम रकमान्तर गर्ने गरेका थिए। गैरकानुनी स्रोत लुकाउने मनसायले कर्जा सीमा १७ करोड ९९ लाख ९० हजार रुपियाँ कायम गरी उक्त रकमलाई आफैंले खोलेका विभिन्न खातामा ट्रान्सफर गरेका थिए। उक्त बैंकिङ कसुरबाट उहाँले बैंकको १८ करोड ३ लाख ७२ हजार रुपियाँ अपचलन गरेको विभागको अनुसन्धानबाट खुलेको छ।

विभागले उहाँको नाममा विभिन्न चार बैंकका खातामा रहेको मौज्दात ३५ हजार ९ सय ८६ रुपियाँसमेत जफत गर्न पनि माग गरेको छ। बुढाथोकीलाई कुल बिगो १८ करोड ३ लाख ७२ हजार आठ सय १८ रुपियाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसमेत) को दफा ३० को उपदफा (१) बमोजिम सजाय हुने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्