राजनीतिमा अर्को तरंग



सत्ता परिवर्तन नेपालको स्थायी रोगको रुपमा देखिएको छ। कुनै पनि दलले लगातार पाँच वर्ष शासन गरेको इतिहास पछिल्लो तीन दशकमा देख्न पाइँदैन। अस्थिर सरकारका कारण मुलुक दिन–प्रतिदिन बर्बादीतर्फ धकेलिने क्रम तीव्र छ। तर पनि त्यो रोग दीर्घजीवी बन्दै गएको छ। २०७२ सालमा जारी संविधानपछि नेपाल झन् अस्थिर राजनीतितर्फ अग्रगतिमा बढेको देखिन्छ। कुनै पनि दलले बहुमत ल्याउन नसक्नु र मिलिजुली सरकार बनाएर अघि बढ्नुपर्ने बाध्यताले नेपाली राजनीति गुज्रँदै आएको छ । पछिल्लो समय नेपालका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी, लेलिनवादी दलबीच सत्ता सञ्चालन गर्न मिलेर जाने सहमति भएपछि राजनीतिमा फेरि तरंग आएको छ।

एउटै दललाई जनताले बहुमत नदिएको तर दुई दल मिलेर जान गरेको आग्रहलाई दुवै दलले यसअघिसम्म अस्वीकार गर्दै आएकोमा पछिल्लो समय दुवै दल एक–आपसमा मिले, अबको बाँकी समय सरकार चलाउने सहमति हुनुले अब नेपालमा स्थायी सरकार सञ्चालन हुन्छ कि भन्ने आशा पनि पलाएको छ । दुई दलबीच मध्यरातमा भएको सहमतिमा संविधान संशोधनदेखि स्थायी सरकार निर्माणसम्मका एजेन्डा सम्बोधन हुनुले मुलुकले अब लय लिन्छ कि भन्ने आशाका किरणहरु पलाउन थालेका छन् । ३२ सिट भएको नेकपा माओवादी केन्द्रले कहिले एमालेसँग सत्ता सहकार्य, कहिले नेपाली कांग्रेससँगको सत्ता सहकार्यले मुलुक झन्–झन् अस्थिर बन्दै गएको थियो । आफ्नो स्वार्थ अनुकूल प्रचण्डले मुलुक र राजनीतिक दललाई प्रयोग गर्दै आएको वर्तमान परिप्रेक्ष्यमा दुई ठूला दल मिलेर सरकार चलाउने घोषणा गर्नुले अब राजनीतिले लय लिन्छ कि भनेर आशा गर्न सकिने संकेतहरु देखा परेका छन्।

दलीय व्यवस्थाप्रति घृणाका स्वरहरु सुनिन थालेको अहिलेको अवस्थामा ठूला दलबीच सत्ता सहकार्य हुनुले स्थिर सरकार र मुलुकमा लामो समयदेखि रोकिएका विकास निर्माणका कामले अब गति लिनेमा आशा गर्न सकिन्छ। अब दुई ठूला दलले अवसरका रुपमा लिई आफूलाई सच्याउँदै जनाताका आशा र भरोसालाई सम्बोधन गरी अघि बढ्नुको विकल्प छैन। आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दुई ठूला दलले संविधानमा देखिएका बाधा–व्यवधानलाई हटाउन संविधान संशोधन र मुलुककै लागि घाँडो भएको प्रदेशसभालाई खारेज गरी स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउने नयाँ संवैधानिक व्यवस्था गर्नु जरुरी देखिएको छ।

चौतर्फीरुपमा नेपालमाथि बाह्य हस्तक्षेप बढ्दोरुपमा रहेको र ठूला दललाई विस्थापित गर्न केही दलमाथि लगानी गर्दै आएका विदेशीहरुलाई देखाउनका लागि मात्रै भने पनि यी दुई ठूला दलले एक–आपसमा मिलेर मुलुक निर्माणमा लाग्नुको विकल्प छैन । अब पनि यी दुई ठूला दल मिलेर मुलुकमा केही गर्न सकेनन् भने मुलुक बर्बादीको बाटोतर्फ जाने निश्चित छ । त्यसैले यी दलले अब दायाँ–बायाँ नगरी अघि बढ्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्