कांग्रेस–एमालेबीच भएको सहमतिलाई राप्रपा र मधेसवादी दलको समर्थन

माओवादी, रास्वपा र नेकपा एसकोे विरोध



काठमाडौं ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाहेक सबै साना दलहरूले कांग्रेस–एमालेबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएका छन्। राप्रपा र मधेसवादी दलहरूले उक्त निर्णयको स्वागत गर्दै सरकारलाई समर्थन गर्ने प्रतिक्रिया दिएका हुन्।

राप्रपाले स्थायित्वका लागि ठूला दलहरू मिल्नु स्वागतयोग्य भएको भन्दै कांग्रेस–एमालेको सरकारलाई समर्थन गर्ने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिक्रिया दिनुभएको छ। त्यस्तै, जसपा, लोसपा, जनमतलगायत दलहरूले दुई ठूला दलको निर्णयप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। नेकपा माओवादी केन्द्रले मुलुकलाई पश्चगमनतर्फ धकेल्न षड्यन्त्र भएको जिकिर गरेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया शुरू हुनेबित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको बैठकले वर्तमान गठबन्धनमा सहभागिता नजनाउने प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अब बन्ने गठबन्धनमा हामी रहँदैनौं । हामी सरकारमा जाँदैनौँ, त्यो एकदम स्पष्ट नै छ। बाँकी के गर्ने भन्ने कुरा अहिलेको राजनीतिक प्रक्रिया अघि नबढिनसकेको हुँदा सरकार परिवर्तन हुने प्रक्रियापछि हामी स्वाभाविक रूपमा बाहिर निस्कन्छौँ ।’

उहाँले परम्परागत पार्टी रातारात सरकार बदल्ने कुरामा अभ्यस्त रहेको तर जनताको संघर्षबाट नयाँ व्यवस्था आएपछि चेत खुल्नुको सट्टा २०४७ सालदेखि जुन कुरामा अभ्यस्त रहेका थिए त्यो कुराबाट पर नगएको र त्यसमा रास्वपाको विमति रहेको टिप्पणी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्