संयुक्त राष्ट्र संघको प्रहरी समिटमा सहभागी भई नेपाली प्रतिनिधि मण्डल स्वदेश फिर्ता



काठमाडौं । 

गृह सचिव एक नारायण अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन भएको चौथोसंयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलन(UNCOPS) मा सहभागी भई मंगलबार स्वदेश फर्किएका छन् । 

गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल र प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की समेत त्यसतर्फ प्रस्थान गरेका थिए  ।

गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गरे ।

विमानस्थलमा कुराकानी गर्दै गृह सचिव एक नारायण अर्यालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शान्ति स्थापनामा पुर्‍याएको योगदानको उच्च प्रशंसा भएको उल्लेख गर्दै भ्रमणमा नेपाली सुरक्षाकर्मीहरूको संख्या, सुविधा, तालिम र शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीहरूले भोग्नुपरेको समस्याको बारेमा छलफल भएको बताए । समग्रमा भम्रण सफल रहेको उनले बताए ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले संयुक्त राष्ट्रसंघमा नेपाली सुरक्षाकर्मीहरूको संख्या घटिरहेको सन्दर्भमा महिला, सम्बन्धित विषयका विशेषज्ञ र महत्वपूर्ण पदमा नेपालीहरूलाई सहभागी गराउने विषयमा छलफल भएको बताए ।

सो अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल समेत गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्