सरुवामा हुने चलखेल नै विकृतिको स्रोत



निजामती सेवामा सरुवा र बढुवा नियमित प्रक्रिया हो। यही नियमित प्रक्रियामा हुने जालझेल नै अनेक विकृति–विसंगतिको कारण बनेको छन। सरुवा प्रक्रियालाई जबसम्म अनुमानयोग्य र वैज्ञानिक बनाउन सकिँदैन तबसम्म सरुवामा जालझेल भइरहनेछ भनेर सबैले बुझेका छन्।

उच्चपदस्थ निजामती कर्मचारीले सरुवा र बढुवालाई अनुमानयोग्य र वैज्ञानिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्य सचिवदेखि विभिन्न निकाय र मन्त्रालयका सचिव एवं प्रमुखको जिम्मेवारी सम्हाले पनि त्यो केवल ओठेगफमा मात्र सीमित बन्न पुगेको छ। सरुवालाई व्यवस्थित बनाउन अनेक मापदण्ड र निर्देशिका बनाए पनि आर्थिक चलखेल र सेटिङले सधैँ त्यसको धज्जी उडाइरहेको छ। यसका पछाडि राजनीतिक नेतृत्व, कर्मचारी संयन्त्र र बिचौलियाको आर्थिक स्वार्थ जिम्मेवार रहेको छ।

यसलाई नियन्त्रण गर्ने तहसम्म कठोर प्रयास नगर्ने हो भने सरुवा–बढुवा सधैँ शक्तिसम्बन्ध, आर्थिक लेनदेनको भुमरीमा परिरहने निश्चित छ। यसले गर्दा इमानदार कर्मचारीमा निराशाबाहेक अर्थोक हुँदैन भने शक्तिमा पहुँच राख्ने कर्मचारीको मनोबल उच्च भइरहने देखिन्छ। त्यसैले सरुवा र बढुवालाई कर्मचारीको कार्यसम्पादनसँग जोडेर गरिनुपर्दछ, नकि तजबिजको आधारमा। यसतर्फ पहल नगरेसम्म कर्मचारी संयन्त्रमा देखिएको विकृति–विसंगति अन्त्य हुनेछैन । कर्मचारी सरुवामा हुने चलखेल, लेनदेन कसैका लागि नौलो होइन । सरकार प्रमुख, मुख्य सचिव र निजामती क्षेत्रका उच्च तहका कर्मचारीले यास विषयको उठान गरेर यसको अन्त्य गर्नुपर्नेमा जोड दिँदै आए पनि व्यवहारमा कार्यान्वयन गरेको पाइँदैन ।

सरकारले बनाउने सरुवासम्बन्धी मापदण्ड शुरुमा लागू भएझैँ हुने र पछि क्रमशः उल्लंघन हुँदै जाने प्रवृत्ति बनेको छ। मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रीनिकट केही व्यक्तिहरु नै सरुवा धन्दामा लाग्ने परम्परा हुँदै आएको छ। अधिकांश मन्त्री र मन्त्रीका सचिवालयमा रहने कर्मचारी नै सरुवा सेटिङमा लाग्ने गरेको भन्दै विवाद हुँदै आएको छ। विभिन्न मन्त्रालयले आफैँले बनाएको नियमको मसी नसुक्दै त्यसको ठाडो उल्लंघन गरी जथाभावी कर्मचारी सरुवा गर्दै आएका छन्। अझ मुख्य सचिव हुने प्रक्रियामा सचिवलाई पनि बिचौलियाले कसरी टिपेर मुख्य सचिव बनाउँछन् र आफ्नो आर्थिक स्वार्थको लागि प्रयोग गर्छन् भन्ने उदाहरण भर्खरै निलम्बित मुख्य सचिव वैकुण्ठ अर्र्यालको निजामती करियर हेर्दा पनि स्पष्ट हुन्छ । यसको अन्त्यका लागि कुनै एक पक्षको प्रयास मात्र नभई राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्र सबैको उत्तिकै प्रयास हुनुपर्ने खाँचो छ। एकले अर्कोको स्वार्थको लागि चलाउने, परिचालन गर्ने प्रवृत्ति रोक्न इच्छाशक्ति, प्रतिबद्धता नभएसम्म यो केवल कर्मकाण्डीरुपमा मात्र सीमित हुनेछ।

कर्मचारी सरुवा र बढुवाको लागि शक्तिकेन्द्रलाई रिझाउनुपर्ने परिस्थितिले गर्दा सेवाप्रवाह एवं सेवाग्राहीप्रति कम जिम्मेवारी तर शक्तिकेन्द्रप्रति बढी जिम्मेवारी हुनुपर्ने अवस्था रहेको छ। यसले राम्रो काम गरेर नभई चाकडी, चाप्लुसी, नातावादको भरमा राम्रो मालदार अड्डा र मन्त्रालयमा पुग्न सकिन्छ भन्ने भाष्य अधिकांश कर्मचारीको मनमस्तिष्कमा जरो गाडेर बसेको छ।

यस्तो मनस्थितिले गर्दा नयाँ–नयाँ नियम बन्ने तर क्रमशः त्यसलाई तोड्ने क्रम पनि दोहोरिरहन्छ । सरुवालाई वैज्ञानिक र अनुमानयोग्य बनाउन जे–जस्ता नियमहरु बनाइन्छन्, ती सबै नियमको अक्षरशः पालना गर्नुपर्छ । सरुवा गर्दा निजामती सेवा ऐन र नियमावलीलाई आधार मान्न सके मात्रै पनि धेरै सुधार हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्