इटालीको सबैभन्दा खराब टोली



लन्डन, (एजेन्सी)

स्विट्जरल्यान्डसँग २–० ले हारेपछि डिफेन्डिङ च्याम्पियन इटाली जारी युरो २०२४ बाट बाहिरिएको छ । लुसियानो स्पालेतीको टोली वास्तवमा समूह चरणमै कमजोर देखिएको थियो । क्रोएसियासँगको खेलमा अन्तिम मिनेटमा गोल गरेर इटालीले लाज बचाएको थियो । यही गोलले टोलीलाई अन्तिम १६ मा पु¥याएको थियो ।

इंग्ल्यान्डका पूर्व स्ट्राइकर गेरी लिनेकरले बीबीसी वानलाई बताए—मेरो पुरै जीवनमा हेर्दा इटालीको यो जस्तो खराब टोली अरु नहोला ।
तीन वर्ष अघि अजुरी (इटाली फुटबल टोलीको उपनाम) ले वेम्बली रंगशालामा पेनाल्टी शूटआउटमा जित्दै इंग्ल्यान्डको सपना तुहाएर युरो कप जितेको थियो । टोलीमा प्रतिभावान खेलाडी छन् । तर, उनीहरुले स्विट्जरल्यान्डविरुद्ध कमजोर खेल देखाए ।

यो टोलीमा गत युरोकप जित्ने खेलाडीमा गोलकीपर डोनारुमा, डिफेन्डर जियोभानी डीलोरेन्जो, मिडफिल्डर निकोलो बारेला र फरवार्ड फेडेरिको किसा रहेका छन् ।

इंग्ल्यान्डका पूर्व कप्तान एलेन शिरेरले पनि बताए—तीन वर्ष अघि अदभुत थियो । म त अहिले साँच्चिकै स्तब्ध भए कस्तो खराब इटाली हो ।
इटाली गत विश्वकप २०२२ मा छनोट हुन सकेको थिएन । युरो २०२४ मा छनोट भएर आएपनि इटालीले चार खेल खेल्यो । जसमा, एक खेलमा अल्बानियाले नै तर्साएको थियो । तर, यो खेल जित्न सफल भएको थियो । स्पेनसँग हार्न पुगेको इटालीले क्रोएसियासँग अन्तिम मिनेटमा हार टारेको थियो ।

इटाली युरोकपमा १९६८ र २०२० गरी दुई पटक च्याम्पियन बनेको छ । यस्तै इटाली फिफा विश्वकपमा चार पटक च्याम्पियन बनेको टोली हो । इटालीले १९३४, १९३८, १९८२, २००६ मा विश्वकप उपाधि जितेको थियो । तर, टोली २०१८ र २०२२ को विश्वकपमा भने छनोट हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्