दिनेश कार्तिक आरसीबीको ब्याटिङ प्रशिक्षक र मेन्टर नियुक्त



काठमाडौँ ।

भारतीय विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले आफ्नो ब्याटिङ प्रशिक्षक र मेन्टर बनाएको छ ।

आरसीबीले कार्तिकलाई ब्याटिंग कोच र मेन्टर बनाएको जानकारी दिएको हो । कार्तिकले यस सिजनको आइपिएलपछि क्रिकेटका सबै फर्म्याटबाट सन्यासको औपचारिक घोषणा गरेका थिए ।

कार्तिकले भारतबाट खेल्दै २००७ को टी-२० विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेका छन् । कार्तिकले भारतका लागि २६ टेस्ट, ९४ एकदिवसीय र ६० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आईसीसी ट्रफीसँगै कार्तिकले सन् २०१० र २०१८ मा भारतसँग एसिया कप पनि जितेका छन् ।

कार्तिकले भारतका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२२ मा बंगलादेशविरुद्धको टी-२० विश्वकपमा खेलेका थिए ।

कार्तिक आइपिएलका सबै सिजन खेलेका थोरै खेलाडीमध्ये पर्छन् । उनले आइपिएलमा २५७ खेल खेलेका छन् र २६.३२ को औसतमा ४ हजार ८४२ रन बनाएका छन् । उनले आरसीबी बाहेक कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स र किंग्स इलेभेन पञ्जाबबाट पनि आइपीएल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्