चितवनमा एक हजार सात सय ७१ डेंगु सङ्क्रमित



काठमाडौं ।

चितवनमा गत वर्ष साउनदेखि हालसम्ममा एक हजार सात सय ७१ जनामा डेंगु सङ्क्रमण देखिएको छ। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका ती बिरामीमा डेंगुको सङ्क्रमण देखिएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा एक हजार सात सय ७१ मा डेंगु सङ्क्रमण भेटिएको हो। सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका बासिन्दा हुन्। तीमध्ये ६ सय ६५ पुरुष र ६ सय तीन महिला रहेका छन्।

यस्तै, ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न आएका तीन सय ६५ जनामा डेंगु सङ्क्रमण देखिएको छ । एक जनाको भने उपचारका क्रममा मृत्यु भएको केसीले बताउनुभयो।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेंगु देखिएको छ। खैरहनी नगरपालिकामा एक सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा दुई सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेंगु सङ्क्रमण देखिएको छ । डेंगु रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ।

यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो। यसबाट बच्न झुल लगाएर सुत्ने, साँझ–बिहान पूरै शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगु सङ्क्रमण रोकथाम गर्न सकिने विज्ञहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्