६६औँ संसद् दिवस

सांसदको भूमिकामाथि नै प्रश्न



काठमाडौं ।

संसद्को काम प्रभावकारी हुन नसक्दा र संसद्को गरिमा ओरालो लाग्दै गर्दा सांसदहरूको भूमिकामाथि प्रश्न उब्जिएको छ। आइतबार ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा संसद्को भूमिका कमजोर भएकैले संसद् प्रभावकारी हुन नसकेको वर्तमान तथा पूर्वसभामुखहरूले बताए।

सांसदको गतिविधिप्रति प्रश्न उठाउँदै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभई सांसदहरू प्रतिक्रियामा उत्रिने गरेको आरोप लगाउनुभयो। उहाँले संसद्मा भएका प्रतिक्रियात्मक टिप्पणीकै कारण अराजकताका समस्याहरू देखा परिरहेको टिप्पणी पनि गर्नुभयो । पूर्व सभामुख सापकोटाले वैचारिक रिक्तता देखा परेको भन्दै संसद्को गरिमा बढाउन सबै सांसदहरूले जिम्मेवारी वहन गर्नुपर्ने सुझाव दिनुभयो ।

सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नुपर्ने बताउनुभयो । कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उहाँको विश्वास छ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरूलाई एउटै संसद्मा राखेर संसद् प्रभावकारी बन्न नसक्ने धारणा राख्नुभयो । समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको जिकिर गर्दै उहाँले समावेशिता कहाँ राख्ने भन्ने कुराको यकिन हुन आवश्यक रहेको बताउनुभयो । प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा बराबर समावेशी सदस्यहरू भएको संसद् बराबर हुनै नसक्ने दाबी गर्दै पूर्व सभामुख ढुंगानाले भन्नुभयो– ‘संसद्को प्रभावकारिता बढाउन महिलाहरूको लागि छुट्टै, जनजाति, मधेसी, थारूहरूका छुट्टै प्रत्यक्ष निर्वाचन स्थल बनाउन जरुरी छ ।’

उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आलोचना गर्नुभयो । संसद्मा फोटो खिच्न नपाउने भए पनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै उहाँले आफूले त्यसको फोटो र भिडियो खिचेर राखेको बताउनुभयो ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको टिप्पणी गर्नुभयो । सांसदहरूले निर्माण गर्ने ऐन, कानुनले नै देश कता जान्छ भन्ने कुराको निर्धारण हुने भन्दै उहाँले सांसदहरूलाई ऐन निर्माणमा बढी केन्द्रित हुन आग्रह गर्नुभयो।

अध्यक्ष दाहालले नेपाली नागरिकसँग गरेका वाचा, अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यमा नेपालको सिङ्गो अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयका साथै नेपाली जनताको जनजीविकाको सवालमा सांसदहरू गम्भीर हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद् प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै भन्नुभयो– ‘संसद्मा नीति निर्माणभन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन सकेको अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्