साउदी अरेबियाका प्रस्तावित राजदूतको दोहोरो नागरिकता र आवासीय कार्ड

छानबिनको माग गर्दै सतर्कता केन्द्रमा उजुरी



काठमाडौं ।

सरकारले हालै साउदी अरेबियाका लागि नेपाली राजदूतको रूपमा अबुस सुफियान खान मुसलमानलाई प्रस्ताव गरेपछि उहाँविरुद्ध राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको छ।

सरकारले म्यानपावर व्यवसायी मुसलमानलाई राजदूतको रूपमा नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला उहाँ भारतीय नागरिक भएको प्रमाणसहित केन्द्रमा उजुरी परेको हो । सतर्कता केन्द्रमा परेको उजुरीमा मुसलमान भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लाको भैंसाही गाउँ निवासी भएको उल्लेख गरिएको छ।

उहाँसँग भारत र नेपालको दोहोरो नागरिकता छ । दोहोरो नागरिकता धारण गर्नु नेपालमा गैरकानुनी हो साथै यसले विभाजित वफादारी र सम्भावित स्वार्थको द्वन्द्वको बारेमा पनि महत्वपूर्ण चिन्ता खडा गर्ने बताइएको छ। मुसलमानसँग कपिलवस्तु जिल्लाबाट जारी भएको २५७८० नम्बरको नेपाली नागरिकता छ। उहाँले सो नागरिकताको पनि दोस्रो प्रतिलिपि लिनुभएको छ।

भारतमा उहाँको रासनकार्ड तथा मतदाता नामावलीमा नाम रहेको छ। मुसलमानका बुबा, आमालगायत परिवारका सदस्यहरूको समेत दोहोरो नागरिकता रहेको तथ्य खुलेको छ। भारतमा समेत घरजग्गा रहेको मुसलमानलाई भारत सरकारले ठगी गरेको आरोपमा फरार सूचीमा राखेको छ। उहाँको परिवारका केही सदस्यहरू हालसम्म पनि भारतमा बसोवास गर्दै आएका छन् ।

त्यति मात्रै होइन, साउदीमा आवासीय कार्ड भएकाले मुसलमानले लामो समयदेखि साउदी अरबमा नै बसेर काम गर्दै आउनुभएको छ। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ अनुसार राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी र अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको भन्ने मापदण्ड तोकिएको छ।

उजुरीमा प्रस्तावित राजदूत मुसलमानसँग राजदूतका लागि आवश्यक पर्ने शैक्षिक योग्यता नभएको, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिशास्त्र वा कानुनजस्ता विषयमा कुनै ज्ञान नभएको भन्दै प्रस्तावित राजदूतलाई कारबाही हुनुपर्ने उल्लेख गरिएको छ।

संघीय समाजवादी पार्टीको सिफारिसमा राजदूतमा प्रस्तावित भएका मुसलमानसँग अन्तर्राष्ट्रिय सम्बन्धको जटिल र संवेदनशील प्रकृतिलाई समन्वय गर्न राजदूतको भूमिकालाई चाहिने कूटनीतिको पर्याप्त अनुभव नभएको पनि उजुरीपत्रमा उल्लेख छ ।

राजदूत हुनका लागि अन्तर्राष्ट्रिय सम्बन्धमा अनुभव भएको हुनु पर्नेमा मुस्लिमको त्यस्तो कुनै पृष्ठभूमि छैन, जसका कारण भोलि राजदूत नियुक्त भइहाले पनि विदेशी समकक्षीहरूसँग प्रभावकारी रूपमा संलग्न हुने र भूराजनीतिक जटिलता बुझ्ने क्षमता नभएको पनि उजुरीमा दाबी गरिएको छ।

इसान ओभरसिज, म्यानपावर एजेन्सीका निर्देशकका रूपमा काम गर्दै आउनुभएको मुसलमान एक दशकभन्दा बढी समयदेखि साउदी अरबमा बस्दै आउनुभएको दाबी गर्दै उजुरीमा उहाँको राजदूत नियुक्तिले नेपालको कूटनीति छविमा कस्तो असर पार्ला सोचनीय विषय भएको पनि उजुरीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्