पारालिम्पिकमा छनोट हुने भीम तेस्रो खेलाडी



काठमाडौं ।

नेपाली पारा पौडीबाज भीमबहादुर कुमाल पेरिस पारालिम्पिक २०२४ का लागि छनोट हुनुभएको छ। भीमले पारालिम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्नुभएको हो।

उहाँले पेरिस पारालिम्पिकका लागि बाइपार्टी कमिसनमार्फत् वाइल्ड कार्ड प्राप्त गरेको विश्व पारा पौडीले राष्ट्रिय पारा ओलम्पिक कमिटीलाई पत्रमार्फत् जानकारी गराएको हो ।

भीमले पेरिसमा पुरुष ५० मिटर फ्रिस्टाइल एस ९ विधामा प्रतिस्पर्धा गर्नुहुनेछ। उहाँले यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन पारा गेम्समा पौडीमा प्रतिस्पर्धा गर्नुभएको थियो। यस्तै, गत वर्ष चीनमा भएको चौथो पारा एसियन गेम्समा पनि उहाँले पारा पौडीमा सहभागिता जनाउनुभयो।

योसँगै नेपालबाट ३ खेलाडीले पेरिस पारालिम्पिक खेल्ने निश्चित भइसकेको छ। यसअघि नै पारा तेक्वान्दोबाट दुई खेलाडीले पेरिस पारालिम्पिक खेल्ने पक्का भइसकेको छ। जसमा पलेशा गोवर्धन एसियाली छनोट चरण पार गरेर छनोट हुनुभएको हो। भरत महता वाइल्ड कार्डमार्फत् पेरिस पारालिम्पिक खेल्नका लागि छनोट हुनुभएको हो।

भीमले पारालिम्पिक लागि छनोट भएकोमा खुसी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो– ‘पारालिम्पिकजस्तो ठूलो प्रतियोगितामा छनोट भएकोमा एकदमै खुसी लागेको छ । यसका लागि धेरै दुःख र मिहिनेत गरेको थिएँ । मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्