नागरिकता विवादमा तानिए सिग्देल

अख्तियारलगायत विभिन्न ठाउँमा उजुरी



काठमाडौं ।

नेपाली सेनाको भाबी प्रधानसेनापतिका रूपमा हेरिएका रथी अशोकराज सिग्देलको नागरिकतामा जन्ममिति फरक परेपछि विवादमा तानिनुभएको छ।

उहाँका दुईवटा नागरिकतामा जन्ममिति फरकफरक रहेको तथ्य सार्वजनिक भएपछि उहाँले अवकास पाउनुपर्ने जिकिर गर्दै उहाँलाई प्रधानसेनापति नियुक्त गर्न नहुने भन्दै राज्य व्यवस्था समितिदेखि संघीय संसद्सम्म आवाज उठेको छ ।

रथी सिग्देलले पेस गरेको नागरिकतामा २०२३ साउन २९ गते र गत जेठ ३ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट उहाँको नेपाली नागरिकताको प्रतिलिपि अभिलेख प्रमाणित गरिएको पत्रमा नागरिकता जारी मिति विसं २०४० साउन २९ र जन्ममिति १७ वर्ष प्रमाणित गरिएको छ ।

जन्ममिति विवादका कारण उहाँले उपरथीबाट नै एक वर्षअघि अवकाश पाउनुपर्ने व्यक्तिलाई प्रधानसेनापति बनाउन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न ठाउँमा समेत उजुरी परेको छ ।

सैनिक सेवा नियमावली २०६९ अनुसार उहाँले त्यति बेला नै अवकाश पाउनुपर्ने थियो । नेपाली सेनाको तीनमहले ढड्डामा पनि नागरिकताअनुसार उहाँको जन्ममिति विसं २०२३ साउन २९ गते रहेको उल्लेख गरिएको छ । तर, सिट रोल र शैक्षिक प्रमाणपत्र अनुसारचाहिँ जन्ममिति विसं २०२३ माघ १९ गते रहेको उल्लेख छ ।

त्यही नागरिकता र शैक्षिक प्रमाणपत्रमा भएको जन्ममिति विवादका कारण सेनाले आधिकारिक रेकर्डअनुसार नै नगई २०८० मंसिर २७ गते उहाँको रथी पदमा बढुवा भएको दाबी गरिएको छ ।

उहाँले अध्ययन गरेका स्कुल र क्याम्पसका ‘सक्कली कागजातमा सिग्देलको जन्म मिति २०२१ चैत १९ गते रहेको छ र पछि त्यसलाई सच्याएर २०२३ माघ १९ बनाइएको पनि अहिले विभिन्न ठाउँमा बाँडिएको उजुरीमा उल्लेख गरिएको छ ।

उहाँले २०४० साउन २९ गते रूपन्देही जिल्ला प्रशासन कार्यालयबाट १७ वर्षको उमेरमा नागरिकता लिनुभएको थियो। तत्कालीन प्रमुख जिल्ला अधिकारी दानबहादुर शाहीले जारी गरेको उक्त नागरिकता हराएकाले उहाँले २०५८ जेठ ८ गते जाजरकोटबाट प्रतिलिपि नागरिकता लिनुभएको थियो।

दानबहादुर शाहीले रूपन्देहीबाट १७ वर्ष उमेर जनाएर दिएको नागरिकताको जारी मिति २०४० असोज ९ गते छ । तर, जाजरकोटबाट लिएको प्रतिलिपिको प्रमाणीकरणमा पनि जारी मिति २०४० साउन २९ गते उल्लेख गरेकाले त्यही मिति कायम हुने भएको छ । यसरी नागरिकता र सर्टिफिकेटमा जन्ममिति फरक–फरक देखिएको अवस्थामा के गर्ने भन्ने विषयमा पनि सैनिक सेवा नियमावलीले प्रस्ट व्याख्या गरेको छ ।

त्यसमा सैनिक व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रमा जन्ममिति वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइनेछ भनिएको छ ।

तर, रथी सिग्देलको बारेमा यो नियमावलीअनुसार गणना भएको पाइएको छैन र नियमावलीअनुसार गणना हुने हो भने पनि उहाँले उमेरहदका कारण अवकाश पाइसक्नुपर्ने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्