बुटवललाई दुध उत्पादनमा अबल बनाउन किसानलाई पाडी वितरण



बुटवल ।

बुटवल उपमहानगरपालिकाले बुटवललाई दुध उत्पादनमा अबल बनाउन किसानलाई पाडी वितरण गरेको छ । पशुपालक किसानलाई पाडी वितरण शुरु गरिएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैसीका पाडी वितरण शुरु गरेको हो। जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको छ । एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा अबल बनाउनका लागि भैसीका पाडी वितरण गरिएको बताउनु भयो । उहाँले वितरण गरिएका पाडीहरुको बीमा गरी किसानलाई उपलब्ध गराइएको बताउनु भयो ।

’बुटवललाई दुध उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित किसानलाई पाडी वितरण गरिएको हो, उहाँले भन्नु भयो–किसानले यसको पूरा लाभ लिनुहुनेछ र बुटवललाई दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न मद्दत पुग्नेछ। आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताउनु भयो । उहाँका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन्।

बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो।

मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोलप्यानल सहितको मेसिन उपलब्ध गराइएको हो। पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैसी गोठ सुधार तर्फ २८ जनालाई अनुदान प्रदान गरिएको बताउनु भयो । गाई भैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बुङुर खोर सुधार तर्फ अनुदान दिएको उहाँले बताउनु भयो । आहारा सुधार सेवा कार्यक्रम अन्तरगत उन्नत जातको घासको बिउ अनुदानमा बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्