बाढीले खानेपानी संरचनामा क्षति, दुईसय घर परिवार प्रभावित



लमजुङ ।

बेसीशहर  नगरपालिका  र मर्स्याङदी गाउँपालिकामा भारी वर्षा र बाढीका कारण खानेपानीको संरचनामा क्षति पुर्याउँदा उपभोक्ताहरु प्रभावित भएका छन् ।

बर्खा लागे सँगै अविरल बर्षा हुँदा भलामखोलामा आएको बाढीले मर्स्याङदी ९ र बेसीशहर ६, का दुईसय घर परिवार प्रभावित भएका हुन् । मस्र्याङदी ९ अन्तर्गत गैरीगाउँ, टारगाउँ, सुवेदीगाउँ र बेसीशहर ६ अन्तर्गत शेराका उपभोक्ताहरु खानेपानीबाट प्रभावितभएका हुन् ।

भलामखोलामा आएको बाढिले शेगैसुटा खानेपानी आयोजना अन्तर्गतका उपभोक्ताहरु प्रभावितभएका हुन् । बाढीले खानेपानी आयोजनाको चेम्बरमा क्षति पुर्‍याउनुको साथै सो आयोजनाको अधिक मात्रामा पाईपलाईनै बगाएपछि खानेपानी अवरुद्ध भएको हो । खानेपानी पुर्णरूपमा अबरुद्ध हुँदा उपभोक्ताहरू समस्यामा परेका छन् ।

एक घर एक धारा कार्यक्रम अन्तर्गत घर आगानमै खानेपानीको उपभोग गर्दै आएका स्थानियहरु अहिले खानेपानी आयोजनाको संरचनानै भत्किएपछि पुराना कुवा र खोल्सा खोल्सीमा पानी खोज्न बाध्य भएका छन् । खानेपानी खोज्न टाढा टाढा पुग्नुपर्ने भएपछि स्थानियको समय समेत बर्बाद भएको स्थानिय उपभोक्ता समिति अध्यक्ष यादवचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाबाट गतवर्ष सो योजना निर्माण सम्पन्न भएको हो । संरचनामा क्षती पुगेसँगै खानेपानी आयोजना पुनः निर्माणका लागि दुईलाख भन्दाबढी खर्च लाग्ने भएको प्राविधकहरुको अनुमान छ ।

खानेपानी आयोजना पुन निर्माणका लागि उपभोक्ता समितिसँग पर्याप्त रकम नभएको र सहयोगका लागि सम्वन्धीत कार्यालयहरुमा अनुरोध गरीएको उपभोक्ताहरुले बताएका छन् । संरचनामा ठूलो क्षति भएको र पुन निर्माणका लागि पनि ठूलै रकम लाग्ने हुँदा खानेपानी आयोजना पुन निर्माणका लागि आर्थिक समस्या भएको छ ।

उपभोक्ताहरुले खानेपानी योजना पुन निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, मर्स्याङदी गाउँपालिका, बेसीशहर नगरपालिका र विपद व्यवस्थापन समितिलाई समेत सहयोग गरिदिन आग्रह गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्