न्युयोर्क यूएन चिफ पुलिस समिटमा गृहसचिवले कस्ता विषय उठाए ?



–सबै मिलेर द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नैपर्छ
–सुरक्षा व्यवस्थापनमा सुधार गर्न नयाँ र डिजिटल टेक्नोलोजीहरू प्रयोग गर्नुपर्छ
–हामी सबैले विकासको दिगोपनामा ध्यान केन्द्रित गर्नुपर्छ
–शान्ति संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुपर्छ
–नेपालसँग शान्ति निर्माणका नवप्रद्र्धनात्मक अनुभवहरू रहेको स्पष्ट

काठमाडौं ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालमा सम्पन्न भएको चौथो युनाइटेड नेसन चिफ अफ पुलिस समिट कार्यक्रममा गृहसचिव एकनारायण अर्याल नेतृत्वको नेपाली सुरक्षा अधिकारीहरूको सशक्त सहभागिता भएको छ।

असार १२ र १३ गते गरी दुई दिनसम्म चलेको सो समिटमा गृहसचिव अर्यालको नेतृत्वमा रहेको नेपाली टिममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायतको सहभागिता रहेको थियो ।

सो समिटमा महत्वपूर्ण सम्बोधन गर्दैै गृहसचिव अर्यालले बदलिँदो चुनौतीपूर्ण वातावरणमा बहुआयामिक सुरक्षा व्यवस्थापनमा आवश्यक सुधार गर्न नयाँ र डिजिटल टेक्नोलोजीहरू प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

समिटमा नेपाली टोलीको नेतृत्व गर्दै गृहसचिव अर्यालले हामी सबै मिलेर विश्वमा गरिबी, अल्पविकास, असमानता, स्रोतको अभाव र जलवायु परिवर्तनका असरलगायत द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

‘दिगो विकास र जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन हासिल गर्नु हाम्रो रणनीतिको मूल आधार हुनुपर्छ’ –गृहसचिव अर्यालले सम्बोधनका क्रममा भन्नुभयो । गृहसचिव अर्यालले हामी सबैले विकासको दिगोपनामा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै पूर्वाधारको पुनर्निर्माण, आर्थिक विकासलाई बढावा दिनुपर्ने तथा शिक्षा र मेलमिलापका प्रयासहरूको माध्यमबाट शान्ति संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वमा शान्ति कायम गर्नुपर्ने विषयलाई विशेष जोड दिँदै गृहसचिव अर्यालले शान्ति कायम गर्न महिला, युवा र सामुदायिक पक्षलगायत स्थानीय सरोकारवालाको सशक्तीकरणमा जोड दिनुपर्ने बताउँदै भन्नुभयो– ‘यी वर्ग नै शान्ति प्रक्रियाका आर्किटेक्ट र एजेन्टहरू हुन्, उनीहरूमा परिस्थितिको वास्तविक चेत रहेको हुन्छ ।’ अर्यालले संगठित अपराध, फरेन्सिक, अपराध विश्लेषण, समुदायउन्मुख प्रहरी, यौनिक तथा लैङ्गिक हिंसाजस्ता समस्याको निराकरणका क्षेत्रमा आवश्यक विशेषज्ञता हासिल गर्न विशेष तालिम महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।

नेपालले यूएन पुलिसको पूर्ण समर्थनमा रहेको स्पष्ट पार्दै यूएन पुलिसको सदस्यका रूपमा नेपाल लामो समयदेखि रहेकाले नेपालले विश्व शान्ति र सुरक्षा कायम गर्न आवश्यक योगदान गरिरहेको बताउनुभयो । गृहसचिव अर्यालले नेपालले आगामी दिनमा निरन्तर रूपमा यूएनको शान्ति कायमको लागि तथा द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा र कानुनी शासन स्थापनाका लागि दक्ष र व्यावसायिक प्रहरीहरू उपलब्ध गराइरहने प्रतिबद्धता जनाउनुभयो ।

सो समिटमा बोल्दै गृहसचिव अर्यालले नेपाललले विगतका ठूला द्वन्द्वलाई कुशलताका साथ समाधान गरेकाले नेपालसँग शान्ति कायम गर्ने, शान्ति निर्माणका नवप्रर्वधानात्मक अनुभवहरू रहेको स्पष्ट पार्दै विभिन्न जटिल समस्यालाई समाधान गर्न समेत नेपाल सक्षम रहेको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्