किनेको चामल खाएर धान दिवस



एक्काइसौँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार देशव्यापीरुपमा मनाइयो। नेपालको प्रमुख बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार भएकाले यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित वि.सं. २०६१ देखि नियमितरूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ।

यसपटक पनि औपचारिक एवं अनौपचारिकरुपमा धान दिवस मनाइयो । किसानले मात्र नभएर अन्य पेसा–व्यवसाय रहेकाले पनि असार १५ मा दही–चिउरा खाएर उत्सवका रुपमा धान दिवस मनाउने प्रचलन व्याप्त छ। यसअनुसार धान दिवसले जसरी व्यापकता पाइरहेको छ, त्यसअनुसार धानको उत्पादन वृद्धि र खाद्य सुरक्षामा प्रगति भएको भने पाइँदैन ।

जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान, विकास एवं उपलब्ध प्रविधिहरुको प्रचारप्रसार गर्नु जरुरी छ । साथै तिनको अवलम्बन गर्न कृषकसहित अन्य सम्बद्ध पक्षलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश धान दिवसको नाराले दिएको छ।

धान दिवस मनाएर किसान र कृषिकर्म गर्ने सबैलाई प्रोत्साहान हुने भए पनि साथसाथै उत्पादकत्व वृद्धिलाई समेत प्राथमिकता दिनुपर्छ । हरेकपटक सरकारबाट धानमा आत्मनिर्भर हुने योजना आउँछ, सरकार प्रमुखदेखि मन्त्री एवं सम्बद्ध अधिकारीहरूको चर्को भाषण पनि सुनिन्छ तर तथ्यांकले भने त्यस्तो देखाउँदैन। तथ्यांकमा चालू आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपियाँ बराबरको ३ लाख ७ हजार ४१७ मेट्रिक टन धान विभिन्न देशबाट आयात भएको छ। यस्तै ८ अर्ब ६९ करोड १७ लाख रुपियाँ बराबरको ८२ हजार ७ सय ९१ मेट्रिक टन चामल आयात भएको छ।

सरकारले धान खेतीप्रति प्रोत्सहान गर्न विभिन्न कार्यक्रम अगाडि ल्याए पनि धानखेतीको आँकडा भने बर्सेनि घटिरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा १३ लाख ३४ हजार २७७ हेक्टर जमिनमा धानखेती भएको छ। तर अघिल्लो आव २०७९/८० मा १३ लाख ३९ हजार १८२ हेक्टर जमिनमा धान खेती भएको थियो।

त्यस्तै आव २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टर जमिनमा धान खेती भएको थियो । आव २०७७/७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर जमिनमा धान खेती भएको थियो भने आव २०७३/७४ मा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धान खेती भएको थियो ।

धानमा आत्मनिर्भरकै लागि सरकारले चैतेधानलाई समेत प्रवद्र्धन गर्न करिब ५० जिल्लामा चैतेधान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ। २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानबालीलाई समावेश गरिएको थियो । तर तथ्यांकले भने राम्रो परिणाम ल्याउन सकेको छैन। तथ्यांकले धान खेतीको हिस्सा घट्दै गएको देखाउँछ। यसले सरकारले सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी नभएको देखिन्छ।

नेपालमामा भात खानकै निम्ति करिब ७० लाख टनको धानको आवश्यकता पर्छ । त्यस्तै रक्सी, बियरलगायतका उत्पादन गर्न थप १५ लाख टनजति धानको माग रहेको छ । तर नेपालमा उत्पादन भने ५० लाख टनको हाराहारीमा मात्रै छ।

भात खानका निम्ति नै करिब २० लाख टन धानको अभाव भइरहेको अवस्थामा भइरहेको धान दिवसको उपयोगितामा नै प्रश्न उठिरहेको छ। तसर्थ, किनेको चामलले भात खाएर धान दिवस मनाउँदासम्म यसले सार्थकता पाउँदैन।

प्रतिक्रिया दिनुहोस्