विपद्‌बाट चार दिनमा ३० जनाको मृत्यु

करोडौंको क्षति, सतर्क रहन अनुरोध



काठमाडौं ।

प्राकृतिक विपद्बाट विगत चार दिनयता ३० जनाको ज्यान गएको छ। असार ११ गते रातिदेखि सक्रिय भएको मनसुनका कारण देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको व्यापक क्षति भएको हो।

अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा शनिबार ९ जनाको मृत्यु भएको छ।निरन्तरको वर्षाका कारण पहिरोले घर पुरिँदा गुल्मीस्थित मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा एकै घरका पाँच जनाको मृत्यु भएको छ।

स्थानीय भेषबहादुर विकको घर पुरिँदा भेषबहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सीता बिक, नातिनी सपना विक र विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै, बागलुङमा शुक्रबार राति गएको पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको छ । प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरीले जनाएको छ।

शनिबार बिहान परेको पानीपछि गएको पहिरोले स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमाछोरीको पुरिएर मृत्यु भएको छ। घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जिटी र उनकी ३ वर्षीया छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदीहरूमा बाढीको जोखिमसमेत बढेको छ। बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। महाशाखाका अनुसार शनिबारदेखि आइतबार कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने र नारायणी नदीका अन्य सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

गत मंगलबार राति र बुधबार बाढीपहिरो र चट्याङले २१ को मृत्यु भएको थियो । बाढीपहिरोमा परी मंगलबार र बुधबार लमजुङमा ५, मोरङमा ३, कास्कीमा २, ओखलढुंगा र झापामा १–१ जनाको मृत्यु भएको थियो । मोरङमा खोलामा बगेर २ जना बेपत्ता भएका थिए भने विभिन्न जिल्लामा बाढीपहिरोबाट दुई दर्जन बढी घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चट्याङ लागेर झापा, रोल्पा, कपिलवस्तु र कैलालीमा २–२ तथा सुनसरीमा १ गरी ९ जनाको ज्यान गएको थियो भने कैलालीमा ६, मकवानपुर, लमजुङ, दैलेख र तनहुँमा २–२ तथा सुनसरीमा एक घाइते भएको मन्त्रालय स्रोतले जनाएको छ।

प्राकृतिक विपद्को खतरालाई ध्याननमा राखेर विपद् पूर्वतयारीअन्तर्गत आवश्यक जनशक्ति र सामग्रीहरू तयारी अवस्थामा राख्न सबै संयन्त्रलाई निर्देशनसहित तयारी गरिएको साथै विपद् राहत कोषको समेत व्यवस्था गरिएको मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

सम्भावित जोखिमयुक्त स्थानमा बसोबास गर्नेलाई स्थानान्तरणको कामलाई सँगै लगेको जनाउँदै उहाँले आम नागरिकलाई सतर्क रहन र विपद् आइपरेको खण्डमा आवश्यक सहयोग आदानप्रदान गर्नसमेत उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्